कांग्रेस अधिवेशनमा विवाद
परासी — पश्चिम नवलपरासीका ४ वटा वडामा कांग्रेस अधिवेशनमा विवाद उत्पन्न भएको छ । कतै निर्वाचन प्रक्रिया सम्पन्न भएको स्थानमा उजुरी परेपछि विवाद भएको छ भने कतै विवाद उत्पन्न भएपछि माइन्युट नै च्यात्ने काम भएको छ ।
रामग्राम नगरपालिका–११ मा वडा सभापतिमा पराजित उम्मेदवारले निर्वाचनको माइन्युट नै च्यातेका छन् । वडाका अन्य पदमा सर्वसम्मत भए पनि सभापतिमा शंकर चौधरी र श्रीकान्त कलवारबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा चौधरी विजय भएपछि असहमति जनाउँदै कलवारले मत परिणाम घोषणाको समयमा माइन्युट च्यातेको निर्वाचन अधिकृत ध्रुव आचार्यले बताउनु भयो ।
कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरी लगाएर भीडलाई तितरवितर गर्नु परेको थियो । जिल्लामा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनाल पक्षबीच तीव्र प्रतिस्पर्धा छ । दुवै पक्षका कार्यकर्ताले प्यानल नै बनाएर निर्वाचनमा सहभागी छन् । सहमति भएका वडामा पनि भागबन्डा भएको छ । सुस्ता गाउँपालिका–५ मा कँडेल र खनाल पक्षका कार्यकर्ताबीच विवाद भएको छ । सहमतिपश्चात् मनोनयनपत्र दर्ता नै नगरी परिणाम घोषणा गरेको भन्दै जिल्ला निर्वाचन समितिका उजुरी परेको छ ।
जिल्ला निर्वाचन अधिकृत बाबुराम पाण्डेले उजुरी आएको स्थानमा कानुनी र व्यावहारिक दुवै पक्षबाट छलफल गरेर विवाद निरूपण गर्न लागिएको बताउनु भयो । जिल्लाका ७४ मध्ये ७० वडाको नतिजा आइसकेको छ । ४ वडामा विवादका कारण प्रक्रिया जारी छ ।