माधवजी एमालेमै फर्किनुस्, क्षमादान दिन्छौं : सुरेन्द्र पाण्डे
पोखरा – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताउनु भएको छ । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताउनु भयो ।
पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो । ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भन्नु भयो ।नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५-१० प्रतिशत नोक्सानी भएको बताउनु भएको छ ।
मंगलबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको रिपोर्ट आएको बताउनु भयो । उहाँले भन्नु भयो ५-१० प्रतिशत नोक्सानी होला । त्यसलाई पूर्ति गर्न हामीले काम गर्नुपर्नेछ ।’