१४ सांसदबारे ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीका विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार कुनै आदेश आएन ।न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ । यसको सुनुवाइ मंगलबार हुनेछ । नेकपा एमालेले १४ सांसदलाई गरेको दल निष्कासनको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिनु भएको थियो ।
यसैसँग सम्बन्धित अर्को रिटमा ओलीले ती १४ सांसदको हस्ताक्षर समावेश गरी नेकपा एकीकृत दर्ता भएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाई अर्को रिट दायर गर्नु भएको थियो । दुबै रिट सँगै सुनुवाइ भइरहेको छ ।
यी रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २८ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । तर भदौ २८ गते न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिए पनि हेर्न नभ्याइनेमा परेर सुनुवाइ हुन सकेको थिएन ।त्यसपछि यस रिटमा सोमबार सुनुवाइ भएको हो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।