तीन बुँदे सहमति कार्यान्वयन नगरे जटिल अवस्था आउने विप्लवको चेतावनी
काठमाण्डौ- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पाटीले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुनः ध्यानाकर्षण गराएका हुन् । विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
आफ्नो पार्टी सहमती कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्दै विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबितिकै आफूले तीन बुँदै सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै विप्लवले तीन महिनासम्म पनि कार्यकर्ता रिहा नहुनुले आशंका जन्माएको उल्लेख गर्नुभएको छ ।
पार्टी प्रवक्ता प्रकाण्डमार्फत प्रधानमन्त्री देउवालाई बुझाइएको ज्ञापनपत्रमा तीन बुदेँ सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनि नतिजा नआएपछि ज्ञापनपत्र बुझाउनुपरेको भन्दै आपत्ती जनाएको छ । केपी ओली नेतृत्वको सरकार रहुन्जेलसम्म विभिन्न बहाना बनाएर माग पूरा नगरिएको र देउवा सरकार गठन भएको तीन महिना पुग्न लाग्दा पनिमाग पुरा गर्नेतर्फ ध्यान नदिएको भन्दै पार्टी महासचिव विप्लवले तीन बुदेँ कार्यान्वयन नगरे जटिल अवस्था सृना हुने विज्ञप्तीमार्फत चेतावनी दिएका छन् ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते तीन बुदेँ सहमति भएको थियो । तर सहमतिको ६ महिना बितिसक्दा समेत सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको महासचिव विप्लवको भनाई छ ।
आपूहरुको माग पूरा नहुनु राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको लागि धोका भएको महासचिव विप्लवले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनत्रपमा भनिएको छ । वार्ता र तीन बुदेँ सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षा माथि तुसारापात भएको पनि विप्लवको ठहर छ । विप्लवले सहमति कार्यान्वयन नभए समस्याको समाधान नभइ झन जटिल स्थिति सृजना हुने चेतावनी दिदै यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउने बताएका छन् ।
