पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता छ: रामचन्द्र पौडेल
जनकपुरधाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको बताउनु भएको छ ।‘पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको छ’ नेपाल प्रेस यूनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्नु भयो ‘रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ । , कसले यो राष्ट्र हाँक्न सक्छ कसले प्रतिपक्षीको सामना गर्न सक्छ त्यस्तो नेतृत्व चाहिएको छ ।’
उहाँले युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको आवश्यक्ता भएको बताउनु भयो ।पार्टी सभापति कसैलाई भागबण्डामा बनाउने कुरा नभएको भन्दै पौडेलले कसलाई सभापति बनाए पार्टी अझ बलियो हुन्छ भन्ने कुरा कार्यकर्तामै छाडिदिनुपर्ने बताउनु भयो । ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन्’ उहाँले भन्नु भयो , ‘ मधेशी नै बने फरक पर्दैन् । तर यो कुरा कार्यकर्तामा छाडिदिनुपर्छ ।’
सबैले अवसर पाउने गरी कांग्रेसले विधान बनाएको भन्दै उनले यस्तो विधान कसैको पनि नभएको दाबी गर्नु भयो ।अहिले पार्टी नै अस्तव्यस्त रहेको भन्दै उहाँले अहिले पार्टी व्यवस्थित गर्नकै लागि लडाइ लडिरहेको उल्लेख गर्नु भयो । ‘यो पार्टी व्यवस्थित भएपछि लोकतन्त्र पनि व्यवस्थित हुन्छ’ उहाँले भन्नु भयो , ‘अहिलेको लडाइ भनेकै कांग्रेस व्यवस्थित गर्नु हो ।’
पार्टीको महाधिवेसन गर्ने मंसिर २४ देखि २६ सम्मको कार्यतालिका नै अन्तिम भएको भन्दै यो समयमा महाधिवेशन हुने बताउनु भयो । ‘यो नै अन्तिम कार्यतालिका हो । यसमा फेरबदल हुँदैन् । तलमाथि हुन सक्दैन्,’ उहाँले भन्नु भयो ।