Connect with us
Kapilvast Forest

फजुल खर्च घटाउँछु, आम्दानी बढाउँछु:मुख्यमन्त्री पाण्डे

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आर्थिक अनुशासन पालना गर्ने र फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।सोमबार वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाउनु भयो । ‘आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्छौं, फजुल खर्च घटाउँछौं, अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गर्छौं’ उहाँले भन्नु भयो ।

 

मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने पनि बताउनु भयो । उहाँले प्रदेशको आम्दानी बढाउने र जनताको जायज माग पूरा गर्ने पनि बताउनु भयो । विकास बजेट विनियोजनमा विगतमा असन्तुलन देखिएको भन्दै अब सन्तुलन बनाउने बताउनु भयो ।

‘विगतमा कुनै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना पर्दै परेन कुनै निर्वाचन क्षेत्रमा धेरै परे । बजेट विनियोजनमा सांसदहरुमा पक्षपात गर्दैनौं’ उहाँले भन्नु भयो । मुख्यमन्त्री पाण्डेले असम्भव योजनामा हात हालेर समय बर्बाद नपार्ने र सम्भव योजना पूरा गर्ने पनि बताउनु भयो ।

उहाँले समयमा बजेट खर्च गर्न क्यालेन्डर बनाएर काम गर्ने र बजेट खर्चमा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने पनि बताउनु भयो । हालसम्म प्रदेश सरकार सञ्चालन ऐन नरहेको भन्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकार सञ्चालन ऐन ल्याउने पनि बताउनु भयो ।