राष्ट्रिय जनगणना : नेपालको जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान
काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ ।
यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पुसदेखि जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महिनामा प्रारम्भिक नतिजा तथा एक वर्षपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी प्रक्रिया अघि बढेको जनाइएको छ ।
आउँदो पुसदेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महिनापछि प्रारम्भिक नतिजा तथा एक वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदन प्रकाशन गर्ने विभागको तयारी छ ।
करिब तीन करोड नजिक पुग्ने
विभागले घर तथा घरपरिवार सूचीकरण कार्यमा ६८ लाख परिवारको गणना भएको जानकारी दिएको छ । जुन विसं २०६८ सालको जनगणनाअनुसार प्रक्षेपण गरिएको करिव नजिक रहेको जनाइएको छ । जसअनुसार केही तलमाथि भए पनि जनसङ्ख्या करिब तीन करोड नजिक पुग्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना १०९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो । यो क्रम अहिले अझै वैज्ञानिकरूपमा सञ्चालन भइरहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६५ लाख थियो । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित शुरु यसपालीको जनगणनामा ८० प्रश्न समावेश थियो । जनगणना गर्न ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक खटाइएको थियो ।