कार्यकर्तालाई चुनाव केन्द्रित हुन देउवाको निर्देशन
काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।
बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिनु भएको हो ।
उनले पार्टीभित्रको आन्तरिक चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो , ‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जादैछौँ । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ। हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो। लोकतान्त्रिक अभ्यास हो। त्यसैले तपाईहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’
प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गर्नु भयो । उहाँले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गर्नु भयो ।