हाम्रो रेकर्ड तोड्न नसकेर कांग्रेस-माओवादीले जनसभा नगर्ने निर्णय गरे: योगेश भट्टराई
भरतपुर-नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनु भएको छ ।
भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताउनु भयो ।
एमाले महाधिवेशनको उद्घाटनसत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उहाँले भन्नु भयो हामीले रकेर्ड बनाइसक्यौं, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन्।’उहाँले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाउनु भयो ।
भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उहाँको भनाइ छ।भट्टराईले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाउनु भयो ।
उहाँले कम्युनिष्ट पार्टी स्थापना भएदेखिको कम्युनिष्टको लिगेसी एमालेसँग रहेको बताउनु भयो ।जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छ उहाँले भन्नु भयो ।
अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने उहाँले बताउनु भयो ।सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १० औं महाधिवेशनबाट देश नै खुसी बनेको बताउनु भयो ।उहाँले चितवनमा सम्पन्न एमालेको १० औं राष्ट्रिय महाधिवेशन सानदाररूपमा सफल भएको जिकिर गर्नु भयो ।