Connect with us
Kapilvast Forest

जब राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन मानेनन् …

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

दाङ -राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार दाङको तुलसीपुर आए।नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा पुरानै अनुहार रहे पनि निर्वाचनबाट तन्नेरी युवा लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि उनको क्रेज ह्वात्तै बढेको छ।

उनलाई सुन्न र हेर्न राप्रपाबाहेक अन्य दलमा आस्था राख्ने ब्यक्ति पनि आएका थिए।कार्यक्रमका लागि स्टेज भब्य र सभ्य थियो। तुलसीपुरको बिपी चोकको ठिक अगाडि सम्बोधनका लागि सडकमै मञ्च तयार थियो।

सडकभरि मानिस थपक्कै बसेका थिए। स्टेजमा राप्रपाका उपाध्यक्ष धूर्ब प्रधान, महामन्त्री धवल सम्शेर जवरा, लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप उदय, पूर्व मन्त्री प्रेम भण्डारीलगायतका नेताहरू लहरै बसेका थिए।

नव निर्वाचित अध्यक्ष लिङ्देललाई स्वागतको लागि भनेर कपिलबस्तुबाट विशेष फूलको माला ल्याइएका थिए। सयपत्री फूलको २५/२५ केजीका मालाहरु स्टेजतिर उकाल्दै गर्दा धेरैले अभिरूचीपूर्वक नियालिरहे।

जब माला लगाउन र सम्मान गर्न भनेर टोली मालासहित स्टेजमा उक्लियो, त्यतिखेर उठेर स्वागत गरे पनि अध्यक्ष लिङ्देनले त्यो माला लगाउन मानेनन्। बरू उनले छोए जस्तो गरेर नजिकैको टेबुलमा राख्न इशारा मात्रै गरे।

त्यसपछि फेरि अन्य नेता कार्यकर्ता एउटा-एउटा माला लगेर उनको स्वागतका लागि स्टेजमा उक्लिँदा पनि अध्यक्ष लिङ्देनले उठेर सम्मान गर्दै माला लगाउन मानेनन्। उनले एउटा खादा मात्र लगाए।

केही बेरपछि उनले त्यो खादा पनि निकाले। कार्यक्रमको बीचमा फेरि अर्कौ त्यस्तै २५ किलोको माला लगाइदिन भनेर अर्को समूह स्टेजमा उक्लियो। तर, त्यो माला लगाउन पनि लिङ्देनले मानेनन्।

त्यहीँ बीचमा चौधरी भेषभुषामा रहेकी एक ग्रामिण भेगकी सामान्य महिला हातमा एक/एक वटा माला लिएर लहरै बसेका नेतालाई लगाउँदै हिडिन्। त्यतिखेर पनि उनले ती चौधरी महिलालाई उठेर सम्मान गर्दै माला नलगाउने भनेर सम्झाउन खोजे।तर उनले फेरि आग्रह गरेपछि उनले केही बेर लगाएर त्यो पनि निकाले।

यतिखेर उनको गलामा एउटा रूद्राक्षको मालाबाहेक अरू केही थिएन।त्यसको केही बेरमा फेरि एउटा आकर्षक सयपत्री र मखमली फूलबाट निर्मित पाँच किलोको माला लगेर अर्कौ टोली स्टेजमा उक्लियो। त्यो माला पनि उनले उठेर हातले स्पर्ष मात्रै गरे। तर, घाँटीमा लगाउन चाहेनन्।

यो सबै देखेपछि हामीले अध्यक्ष लिङ्देनलाई सोध्यौं – तपाँईले किन सयपत्री फूलको माला नलगाउनु भएको?उनले सहज रूपमा हाँसेरै जवाफ दिए, ‘मैले काम नै के गरेको छु र यो सुन्दर फूलको माला लगाउनलाई। म यो माला लगाउन लाइक अझैं भइसकेको छैन।’

उनले आफू देश र जनताको लागि केही उल्लेखनीय काम गरेपछि मात्रै माला लगाउन लायक हुने प्रतिक्रिया दिए। ‘यो फजुल खर्च पनि हो,’ उनले भने, ‘खुसी पार्ने नाममा यति ठूलो माला तयार पार्नु र फूलहरु नष्ट गर्नु सही होइन।’फूल प्रकृतिको सबैभन्दा सुन्दर बस्तु भएकाले त्यसरी जथाभावी नष्ट गर्न नहुने उनको भनाई थियो।अध्यक्षले नै माला लगाउन नमानेपछि विस्तारै मञ्चमा बसेका अन्य नेताले पनि घाँटीबाट माला निकालेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu