Connect with us
Kapilvast Forest

सरुमारानीमा सानाकिसानलाई बाख्रा उपहार ‘बाख्रा हब बनाउने अभियान

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

 प्यार अलि खान,प्युठान – सरुमारानी गाउँपालिका ‘बाख्रा हब’ को अभियानमा लागि परेको गाउँपालिका प्रमुख झग बहादुर विश्वकर्माले बताएका छन्। पालिकाको वडा नं ४, ५ तथा ६ मा पकेट क्षेत्र निर्धारण गरी कार्यक्रमलाई अघि बढाइएको उनले जानकारी दिए। ‘हामी १ हजार २ सय घरधुरीलाई जोड्ने गरी अघि बढेका छौं।’ अध्यक्ष विश्वकर्माले भने, ‘विपन्न तथा साना किसानहरूलाई व्यवसायिक बाख्रापालनमा जोड्दै उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउने गरी अघि बढ्छौं।’

कार्यक्रम मार्फत किसानहरूको आयआर्जनमा वृद्धि हुने उनले अपेक्षा लिए। गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालसंगको सहकार्यमा सानाकिसान तथा विपन्न समूहलाई लक्षित गरी कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिए। पालिकाको १ करोड ५० लाख रुपैयाँ तथा हेफरको करिब ५५ लाख रुपैयाँ बजेटमा कार्यक्रम अघि बढाईएको हो। किसानहरूको मूल समूह तथा उपसमूह गठन गरी किसानहरूको पहिचान तथा आवश्यकताका आधारमा बाख्रा तथा बोका अनुदानमा दिँईदै आएको हेफर नेपालका कार्यक्रम अधिकृत जगत चौधरीले जानकारी दिए।

मंगलबार वडा नं ४ भित्रका ३ वटा मूल समूह अन्तर्गत कालिकाटी महिला समूह, दान्सिङ मान्द्रे समूह तथा तालपानी महिला समूहलाई २५/२५ वटा बाख्राका दरले तथा १/१ वटा ब्याड बोका अनुदान स्वरूप वितरण गरिएको छ। ‘एउटा समूहलाई २५ वटा बोका तथा एउटा ब्याड बोका दिँदै आएका छौं।’ चौधरीले भने, ‘व्यवसायिक बाख्रापालन तर्फ कार्यक्रम उन्मुख रहनेछ।’ एउटा समूहमा स्थानीय जातका २ लाख ३० हजार बराबरको बाख्रा तथा बोका वितरण गरिने उनले जानकारी दिए।

आयआर्जनका लागि बाख्रा पाएसंगै आत्मविश्वास बढेको सरुमारानी -४ बेसीगाउँकी रामकुमारी सोमैले बताईन। उनले भनिन् ‘यसैबाट एकबाट दुई गराउँदै पाठापाठी विस्तार हुने आशा छ।’ बहुवर्षिय कार्यक्रम अन्तर्गत रहेको बाख्रा अनुदान कार्यक्रममा हेफरको प्राविधिक सहयोग रहने गाउँपालिकाले बताएको छ।