Connect with us
Kapilvast Forest

नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा

२०७८, १७ पुष शनिबारमा प्रकाशित

काठमाडौं -साहूसँग ऋण लिँदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ तर यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ कविलासाको एक दलित परिवारमा । उक्त स्थान निवासी रामविलास सदाले स्थानीय साहु रवि मण्डलसँग रु २० हजार ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धकीमा राख्नु परेको छ ।

 

“गत २०७६ चैत महिनामा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेका बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकाले गाउँले रविसँग ऋण माग्न गएँ”, ६० वर्षीय सदाले भने, “तर रविले ऋण पाउन कुनै समान बन्धकी राख्नुपर्छ, नत्र ऋण पाइनन् भनेर फर्कायो ।” आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दुखेसो छ । “मसँग बन्धकीमा राख्न न कुनै जग्गा छ, न त कुनै गरगहना वा चलअचल सम्पत्ति नै”, उनी भन्छन्, “त्यतिकै ऋण दिनुस् म मजदुरी गरेर विस्तारै तिरिदिन्छु भनेर आग्रह गर्दा सुरुमा साहू रविले मान्नु भएन, पछि बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो”, नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको सदाको गुनासो छ ।

ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिन भएको छ । “पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ क्यारे”, उनले भने, “ वडाअध्यक्षबाट नागरिकताका लागि सिफारिस गराएर सबै कागजात लिइ पटक पटक बोदे बर्साइनस्थित इलाका प्रशासन कार्यालय पुगेँ तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइदिए ।” एकातिर पतिको नागरिकता बन्धकीमा छ अर्कोतिर आफ्नो नागरिकताका लागि पतिको नागरिकता ल्याउनु भन्छ, त्यसैले ठूलो समस्यामा परेको सावित्रीदेवीको गुनासो छ ।

ऋण लिएबापत बन्धकीमा राखिएको पतिको नागरिकता माग्न पटकपटक साहूँ रविकहाँ धाए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको उनको भनाइ छ । भारतको पञ्जाबमा मजदुरी गरी हालै फर्किएका आफ्ना पतिले साहू रविलाई रु २० हजारमध्ये रु १५ हजार चुक्ता गरे पनि पुरै ऋण चुक्ता नभएसम्म नागरिकता फिर्ता नदिने साहुले बताउँदै आएका छन् ।