प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने- एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए-नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।
उनले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने बताए । ‘एमसीसीको टेन्डरमा सफल हुनुस्,’ उनले भने, त्यसो भए सबैभन्दा बढी खुसी म नै हुनेछु ।’
अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने उनले बताए ।‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतको पनि आउनसक्छन्,’ नेपालकौ वा अरु देशका कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’
एसमीसीको ५० करोड डलर सहयोगअन्तरगत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुँदैछ ।कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने बताए । विगतमा रहेको लोडसेडिङको समस्यालाई सम्झाउँदै उनले त्यही दिन फेरि आउन नदिन एमसी परियोजनालाई स्वीकार गरिएको बताए ।
प्रधानमन्त्री देउबाले पद नै धरापमा परेपनि एमसीसी पास गर्ने दृढता देखाएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसामु देशको विश्वसनियता बचाउन पनि एमसीसी परियोजना स्वीकारिएको बताए ।
‘सबै निर्माणमा व्यवसायीलाई मेरो अनुरोध छ, एमसीसी परियोजना देश विकासकै लागि हो भनेर तपाईंहरुले पनि जनतालाई बुझाउन सहयोग गर्नुस्,’ खाँणले भने ।