जनकपुरधाममा ७९ वर्षीय वृद्धले दिए मेयरमा स्वतन्त्र उम्मेदवारी
जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा ७९ वर्षीय एक वृद्धले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।जनकपुरधाम–८ पिडारी चोकका रामसेवक यादवले आज मनोनयन दर्ता गराएका हुन् । उनले राजनीति फोहोर भइरहेकाले यसलाई सफा गर्न आफूले उम्मेदवारी दिएको बताए ।
अहिलेका दलहरूको विचारमा कटुता, व्यवहारमा पुँजीवाद र सद्भाव विखण्डनवादी भएको उनको आरोप छ ।नेता यादव नेकपा एमालेका पुराना नेता हुन् । तर, एमालेमा पनि बिचलन आएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार साना दुई दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै, उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको छ ।
जनमत पार्टीबाट अनिता देवी साह, नेकपा मालेबाट गीताकुमारी मण्डल, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतोले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा जनमत पार्टीबाट संतोषकुमार साह, स्वतन्त्रबाट कुमारी बनिता यादव र उमेश चौधरीले उम्मेदवारी दिएका छन् । बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएका छन् ।