बाणगंगाकि उपप्रमुख चौधरीद्धारा पदभार ग्रहण
कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकाले पहिलो महिला उपप्रमुख पाएको छ । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाणगंगाले महिला उपप्रमुख पाएको हो ।संविधानमा नगरको प्रमुख, उपप्रमुख मध्ये एक जना महिला अनिवार्य भएपनि गएको ०७४ सालमा सम्पन्न निर्वाचनमा बाणगंगाको उपप्रमुख महिला विहिन थियो ।
तत्कालिन बेला नेकपा (एमाले)ले विमला घिमिरेलाई नगर प्रमुखको उम्मेद्वार बनाउँदै नगर उपप्रमुखमा चक्रपाणी अर्याललाई टिकट दिएको थियो । कांग्रेस, माओवादी गठबन्धनले भने नगर प्रमुखमा कांग्रेसबाट मंगलप्रसाद थारु र नगर उपप्रमुखमा माओवादीबाट टोपनारायण बेल्वासे दुबै पदमा पुरुष उम्मेद्वार बनेका थिए ।
तर, गठबन्धनबाट नगर प्रमुखमा थारु निर्वाचित भए भने एमालेबाट नगर उपप्रमुखमा अर्याल निर्वाचित भए । यसले गर्दा बाणगंगा ५ बर्ष महिला उपप्रमुख विहिन बनेको थियो ।
हालै सम्पन्न निर्वाचनमा एमालेबाट उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएकी छिन् । थारुले कांग्रेसकी उम्मेद्वार तारावती चौधरीलाई पराजित गरेकी थिइन् ।
उपप्रमुख चौधरीले मंगलबार पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै थारुले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।