केपी ओली नेतृत्वकाे एमाले सरकार इतिहासमै थिएन : भुसाल
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ ।
आज बुधवार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षकाे बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उहाँले नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा ? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यति बेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दैछु एमालेको सरकार रे, कसरी दुई वटा पार्टीको सरकार एमालेको हुन्छ ? दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घामजत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ? केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’
राष्ट्रिय सभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिकहरू खटाउने निर्णय र विद्युतको उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्छु भन्ने तर विद्युतीय साधनहरूमा महसुल बढाउने निर्णय विरोधाभास भएको उल्लेख गर्नुभयो । उहाँले गएकाे सालको बजेट तत्कालीन सरकारले संसदबाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोप पनि लगाउनुभयो ।