सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा : धनगढीमा
धनगढी- डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको शाखा अस्पतालको उद्घाटन गर्नुभएको हो ।
धनगढीमा प्रहरी र पूर्व प्रहरीको ठूलो सङ्ख्या भएकाले उहाँहरुको स्वास्थ्य उपचारलाई ध्यान दिएर यहाँ शाखा विस्तार गरिएको प्रहरी महानिरीक्षक सिंहले बताउनुभयो । प्रहरी प्रधान कार्यालय र धनगढीमा प्रहरी अस्पतालको शाखा विस्तार गर्ने प्राथमिकता थियो त्यहीअनुसार शाखा विस्तार भएको उहाँको हुनासो छ ।
यहाँ महिलाहरुको स्वास्थ्य समस्या धेरै छ त्यसैले यहाँ अस्पतालको विस्तार जरुरी छ उहाँले भन्नुभयो प्रहरी कल्याणकारी कोषद्वारा स्थापना भएको यो अस्पताललाई थप सुविधा सम्पन्न र नमुना अस्पताल बनाउन प्रहरी प्रधान कार्यालयले सक्दो सहयोग गर्नेछ ।
केन्द्रीय प्रहरी अस्पतालका प्रमुख तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहका अनुसार धनगढीको प्रहरी अस्पतालमा अहिले सात बेडबाट शुरु भएकोमा भविश्यमा ५० बेडको बनाउने लक्ष्य छ । सो अस्पतालमा अहिले दुई जना स्त्री रोग विशेषज्ञसहित चार जना चिकित्सक कार्यरत हुनुहुन्छ । आवश्यक्ताअनुसार स्वास्थ्यकर्मीको सङ्ख्या थप्ने उहाँले जानकारी दिनुभयो ।
अस्पताल उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख मोहनकुमार आचार्यलगायतले धारणा राख्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक सिंहसँग पूर्व प्रहरी अधिकृतहरुले धनगढीलाई अझ सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने, सुदूरपश्चिमका नौ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने माग राख्नुभएको थियो । धनगढीको प्रहरी अस्पतालले एक सातासम्म धनगढीमै निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयले दिपायलमा सञ्चालन गरेको प्रहरी अस्पतालको शाखा भएको जनाइएको छ । विशेषज्ञ सेवा उपलब्ध रहने प्रहरी अस्पतालमा सर्वसाधारणले पनि उपचार सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।