सडक भासिदाँ यातायात ठप्प
सिन्धुपाल्चोक- अबिरल बर्षाले सिन्धुपाल्चोकका राजमार्ग र ग्रामीण सडक भासिएपछि यातायात ठप्प भएको छ । अरनिको राजमार्गको महभीर खण्ड, कोठे खण्ड भासिएर सवारीसाधान आउजाउमा निकै समस्या भएको छ ।
बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ खण्ड, दशकिलो खण्ड, शिरिशे, जम्बु, कोदारी खण्ड, घट्टेखोला, झिर्पु लगायत खण्ड एक मिटर भन्दा बढी भासिएको छ । बाह्रबिसेको साँधीखोल्चाको भीषण बाढीले बाह्रबिसे बजारमा माटोलेदो, ढुंगा थ्रुप्रिएको छ ।
बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित टाडँबिसौनाको घ्याम्पाडाँडामा सडक पहिरो जाँदा आउजाउ पूर्णरुपमा बन्द भएको स्थानीय नवराज रायमाझीले बताउनु भएको छ । बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले क्षतिग्रस्त सडक सूचारु गर्न नगरपालिका लागिरहेको बताउनु भयो ।