ट्रक पल्टिएर च्यापिँदा सहचालकको मृत्यु
दाङ – दाङमा ट्रक पल्टिएर च्यापिँदा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका सहचालक रूपन्देही रोहिणी गाउँपालिका-६ का करिब २६ वर्षीय सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराही–लमही सडकखण्डमा पर्ने भैंसी बगाउने खोलामा बुधबार दिउँसो करिब सवा १ बजेतिर ट्रक पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।
उनका अनुसार घोराहीबाट भैंसीराँगाको काँचो छाला लिई विराटनगर जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक अनियन्त्रित भई घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोलाको ओरालोमा पल्टिएको थियो।
ट्रक पल्टिँदा सहचालक च्यापिएका थिए भने सडकमा यातायात अवरुद्ध भएको थियो। जेसिबीको सहायताले सहचालकको शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी प्रवक्ता र गौतमले जानकारी दिए। सडक अहिले एकतर्फी रुपमा खुलेको र ट्रक चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ।