Connect with us
Kapilvast Forest

५५६ सवारी दुर्घटना हुँदा ५४ जनाको मृत्यु

२०७९, २१ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं-फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् ।

प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । ‘फूलपातीयता १ हजार ५३० सवारीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गर्‍यौं,’ उनले भने,’हामीले सडकमा जति कडाइ गरे पनि दुखद् दुर्घटना हुन रोकिएको छैन ।’

यो तथ्यांकले यो वर्ष पनि दशैंको यात्रा सुरक्षित गराउने सरकारको प्रतिवद्धता पुरा नभएको देखाएको छ । राईका अनुसार दशैंमा यात्रुको चाप उत्तिकै छ, सडक र राजमार्गभरि खाल्डा र उबडखाबड छन्, यस्ता जीर्ण सडकमा यान्त्रिक परीक्षण नगरी तीव्र गतिमा दौडिरहेका सवारी राजमार्गमा दशैंको समयमा दुर्घटनामा परिरहेका छन् ।

‘ओभरलोड र ओभर स्पीडले समस्या गर्‍यो,’ उनी भन्छन्,’यान्त्रिक परीक्षण नगरी सवारी दौडिएका छन्, हामीले केही छड्के जाँच गर्‍यौं, तर त्यो पर्याप्त भएन ।’

बिहीबार मात्रै हेटौंडा-अमलेखगञ्ज खण्डको ३ नम्बर पुलनजिकै ब्रेक फेल भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । गत सोमबार मात्रै यही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ३६ जना घाइते भएका थिए । दशैंकै बीचमा यो वर्ष पनि यस्ता अनेकन दुर्घटनाहरू भएका छन् । जसमा धेरै अंगभंग पनि भएका छन् ।

दशैंमा दुर्घटना बढ्ने जोखिम भएरै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने नियम बनाएर सूचना जारी गरेको थियो । तर, बनावटी सूचनाले दशैंको समयमा सम्भावित दुर्घटना टार्न सकेन ।

लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्थाले पनि दशैंमा ठूला दुर्घटना टार्न सकेन ।

सोमबार र बिहीबार ठूलो दुर्घटनाा भएको हेटौंडा-अमलेखगञ्ज खण्डमा पनि टाइम कार्ड लागू थियो । तर, टाइम कार्डको व्यवस्था प्रभावकारी नभएका कारण पनि दुर्घटना घट्न सकेन ।

प्रहरी प्रवक्ता राईका अनुसार सडक र गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम यस्ता दुर्घटना हुन् । राजमार्ग र ग्रामीण क्षेत्रमा चल्ने यात्रु कोचेर धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा रहेको प्रहरीको निष्कर्ष छ ।

‘सडकको अवस्था राम्रो छैन, सवारीको यान्त्रिक अवस्थाको जाँच भएको छैन,’ उनी भन्छन्,’यात्रु टनाटन भरेर सवारी तीव्र गतिमा दौडिनु नै दुर्घटनाको मूल कारण हो ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu