पाल्पामा मोटरसाइकलको ठक्करबाट ७० वर्षिया बृद्धकाे मृत्यु
पाल्पा — पाल्पाको रामपुर नगरपालिका–५, सानीअमराईमा मोटरसाइकलको ठक्करबाट बेझाँड बजार बस्ने ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको छ । बाटोमा पैदल हिँडिरहेकी उनलाई कालीगण्डकी करिडोरअन्तर्गत सानीअमराईमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु ६८ प ९९९४ नम्बरको मोटरसाएकलले ठक्कर दिँदा गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन रिफर गरिएको थियो ।
उपचारको लागि लैजाने क्रममा रम्भा गाउँपालिका–१ हुँगीमा पुग्दा दमिनीको बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए