Connect with us
Kapilvast Forest

विप्लव नेतृत्वको नेकपाले निर्वाचनको विरुद्धमा भण्डाफोर अभियान सञ्चालन गर्ने

२०७९, १६ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बिरुद्धमा भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कात्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए । उनले निर्वाचनको बिरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरुको आयोजना गरिने बताए । पार्टीले निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने पनि उनले जानकारी दिए ।

बैठकको निर्णय जानकारी गराउँदै उनेल भने, ‘मंसिर ४ गतेको संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय ग¥यो । खारेज अभियान प्रभावकारी बनाउन देशव्यापी रुपले चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस, सभाहरुको व्यापक रुपले आयोजना गर्ने साथै जनतालाई लुटेराहरुको चुनावमा भाग नलिन अपिल गर्ने निर्णय लिएको छ । प्रचारात्मक कार्यक्रममा राज्यले दमन गरेका उचित प्रतिरोध गर्ने पनि निर्णय गरिएको छ ।’

चुनाव खारेज अभियानलाई सहयोग पुग्नेगरी केन्द्रिय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको छ । बैठकले २९ सदस्यीय पोलिटब्यूरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको छ भने केन्द्रीय समितिको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ ।