Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा विमानस्थलमा छुट

२०७९, १५ पुष शुक्रबारमा प्रकाशित

सरकारले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै हुनुहुन्छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको छ । विमानस्थलको भूमिस्थ सेवामा समेत छुट दिनेबारे छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन ।” विमानस्थल सञ्चालनमा आएदेखि एक वर्षसम्म उक्त छुट सुविधा दिइने उहाँले बताउनुभयो ।

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्न नेपाल वायुसेवा निगमलाई २०७७ मङ्सिरमै अनुमति दिइसकेको छ । निगमले जहाजको म्याक्सिम सर्टिफिकेटेड टेकअफ वेट (एमटीओडब्लू) अधिकतम उडानयोग्य तौललगायतका आधारमा भूमिस्थ सेवा शुल्क लिनेछ । गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई एक वर्षसम्मका लागि विभिन्न सेवा शुल्कमा छुट दिँदै आएको छ । त्यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हवाई सेवाले हाल भूमिस्थ सेवामा ५० प्रतिशत छुट लिँदै आएका छन् ।

प्राधिकरणले पोखरा विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को विज्ञ टोलीले गरेको क्यालिब्रेसन फ्लाइटको पूर्ण प्रतिवेदनका आधारमा एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरामा व्यावसायिक उडान गर्न अनुमति दिने प्रक्रिया सुरु हुने प्रवक्ता निरौलाले बताउनुभयो ।

पोखरा विमानस्थलमा उडान गर्न जजिरा एयरवेज र हिमालय एयरलाइन्सले चासो देखाए पनि एआईपी सार्वजनिक गरेपछि अनुमतिको प्रक्रिया सुरु हुने उहाँको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय सेवा प्रयोग गर्ने यात्रुलाई दुईवटा ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको हो ।

विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग छ । वार्षिक ८० लाख हाराहारीमा यात्रुले हवाई सेवा लिने अपेक्षा गरिएको यो विमानस्थलमा साना–ठूला गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको प्राधिकरणले जनाएको छ ।

यता गत कात्तिक १७ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले भने यात्रु नपाएको भन्दै उडान रोकेको छ ।

एयरलाइन्स स्रोतका अनुसार रोकिएको उडान पुनः कहिलेबाट उडान हुन्छ भन्ने निश्चित छैन । हिमालयले उडान रोकेपछि अब उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै साताको तीन उडान गर्ने भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu