कपिलवस्तुमा नब्बे क्युफिट काठ बरामद, एक जना पक्राउ
सनिउल्ला धोबी-
सव डिभिजन वन कार्यालय खरेन्द्रपुरले शिवराज नगरपालिका–३ स्थित भितारिया गाँउमा छापा मारेर करिब ९० क्युफिट काठ बरामद गरेको छ । काठ सहित भितारिया बस्ने बर्ष २१ का रुपेश थारुलाई समेत पक्राउ गरेको बन कार्यालयले जनाएको छ ।
बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान रहेको छ । सहायक वन अधिकृत एजाज अन्सारीको कमाण्डमा साझेदारीका पदाधिकारी, नेपाल प्रहरी र सशस्त्र वन रक्षक,बन पाले सहितको टोलीले उक्त काठ खोजतलास गरि बरामद गरेको थियो ।
छापा मार्ने क्रममा भितारिया अधिकांसको घर आँगनबाट लुकाएर राखेको अवस्थामा उक्त चिरान काठ बरामद भएको डिभिजन बन कार्यालय गौतम बुद्धका प्रमुख दधिलाल कडेलले जानकारी दिनुभयो ।
तस्करको पहिचान खुलेकाले तस्कर विरुद्ध मुद्दा दर्ता गरी कारवाही अघि बढाइने डिभिजन वन कार्यालयले जनाएको छ । बन नियन्त्रण गर्नका लागि विशेष योजनाका साथ टोली परिचालन गरेको डिभिजन बन कार्यालय गौतम बुद्धका प्रमुख दधिलाल कडेलले बताउनुभयो ।
बरामद काठ राष्ट्रिय बन र कपिलवस्तु साझेदारी बन समितिको जङ्गलबाट चोरी गरी ल्याइएको कपिलवस्तु साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले जानकारी दिनु भयो । बन तस्करहरु सलबलाएकोले विशेष योजना सहित बन गस्ती बढाएको अध्यक्ष तिवारीले बताउनु भयो ।
भितारियाको ६ घरमा छापा मार्दा सालको काठ र कर्मा जातको काठ बरामद गरेको डिभिजन वन कार्यालय (गौतम बुद्ध) ले जनाएको छ । बरामद काठ डिभिजन बन कार्यालय गौतम बुद्धलाई बुझाइएको छ ।