पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई
काठमाडौँ- नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवनमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने मिडिया सम्मेलनमा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नुभयो । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे बताउनु भएको हो ।
सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । उहाँले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गर्नुभयो ।