कैलाली बहुमुखी क्याम्पसको मतगणना अनिश्चित
धनगढी- धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतादान भए पनि मतगणना भने अनिश्चित बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।
तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको छैन । मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो । एमाले सम्बद्ध अनेरास्ववियु अनेरास्ववियु क्रान्तिकारी स्वतन्त्र विद्यार्थी समूहलगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका थिए ।
कांग्रेस सम्बद्ध नेविसंघले क्याम्पसमै गणना हुनुपर्ने माग गरेपछि सहमति हुन नसकेको हो । स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वरप्रसाद जोशीले मतगाणनाका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनसहितको बैठक बोलाइएको बताउनु भयो ।