विजयनगरको निर्माणकार्यमा कमसल सामग्री प्रयोग
राम अवतार चौधरी– कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको “जनता आवास निर्माण”मा कमसल सामग्री प्रयोग गरिएकाे पाइएकाे छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माण हुन लागेका जनता आवास निर्माणमा ईट्टा लगायतका सामग्री प्रयोग गरिएकाे स्थानीयले आराेप लगाएका छन् ।
गाउँपालिकाकाे वडा नम्बर-५, बघमरवा गाउँमा निर्माण हुन थालेका “जनता आवास निर्माण” कार्यमा थर्ड क्वालिटीकाे ईट्टा प्रयाेग गरिएको स्थानीय लाेकेश थापाले बताए । प्रदेश सरकारकाे याेजनामा निर्माण हुन लागेकाे जनता आवासमा ठेकेदारले ईट्टा प्रयाेगकालागि निर्माण स्थलमा झारिएकाे उनले जनाए । जानी-जानी कमसल ईट्टा झारिएकाे बताउँदै ठेकेदारकै लापरवाही रहेकाे इन्द्रजित चाैधरीले गुनासाे गरे । ठेकेदारले कमसल सामग्रीकाे प्रयाेग गरि भ्रष्टाचारमा लिप्त हुने गरेकाे चाैधरीले आराेप समेत लगाए ।
गाउँपालिकाभित्र निर्माण भइरहेको जनता आवासमा ईट्टा पुर्याउन जिम्मेवारी लिएका ठेकेदारले निर्माणका लागि कमसल सामग्री झारेको स्थानीयले बताउँछन् । वडा नम्बर ६ का जनता आवास निर्माण समितिका अध्यक्ष बदरु जमा नाउले ईट्टा खसाल्ने जिम्मेवारी लिएका व्यक्तिले राम्रो इट्टा खसाल्छु भन्दै झुक्याएर कमसल इट्टा झारेकाे बताए ।
आवास निर्माणका सब-ओभरशियर गाेपाल क्षेत्रीले आवास निर्माणका सबै कार्यहरू गर्न राेकेकाे बताए । कमसल ईट्टा प्रयोग भएकाे सूचना पाएपछि निर्माण स्थल पुगी झारिएकाे उक्त गुणस्तरहीन सामग्री प्रयोग नगर्न र कामसमेत राेक्न घर निर्माण कामदारलाई जनाए । स्टीमेट अनुसार गुणस्तरीय सामग्री प्रयोग गर्ने बताउँदै निर्माणका लागि झारिएका ईट्टा फिर्ता गरि अर्काे ईट्टा झार्ने उनले बताए । प्रति आवास निर्माण श्रमदानसहित ३ लाख ८५ हजार बराबरको काम गरि घर धनीकाे नाममा भुक्तानी हुने उनकाे भनाई छ ।
यता ईट्टा झार्ने ठेक्का लिएका प्रहलाद खाँनले निर्माणका लागि कमसल इट्टा नझारिएकाे दाबी गरे । यदि कमसल भए ईट्टा फिर्ता लिने गुणस्तरीय ईट्टा झार्ने बताए । स्थानीय र आवास निर्माण समिति र सब-ओभरशियर लगायतकाे गुनासो आएपछि गुणस्तरीय ईट्टा झार्ने खाँनले जनाए ।
स्टीमेटमा उल्लेख भए अनुसार इट्टाकाे प्रयाेग गरिने बताउँदै उनले भने : “स्टीमेट अनुसार नै इट्टाकाे प्रयाेग गरिने हाे, यदि कमसल ईट्टा छ भने प्रयाेग गरिदैँन र प्राविधिकबाट अनुगमन समेत गराएर मात्र निर्माण कार्य सुरु गर्ने हाे ।”
गाउँपालिकामा चालु आर्थिक वर्ष २६ ओेटा जनता आवास निर्माण भइरहेका छन् । वडा नम्बर ५ मा ८ ओेटा, वडा नम्बर ६ मा ८ ओटा र वडा नम्बर ७ मा १० ओेटा जनता आवास निर्माण भइरहेका छन् । निर्माण भइरहेकाे सबैमा एकै किसिमको गुणस्तरहीन सामग्री प्रयाेग भएका छन् ।