कलवारले ४ लाख हिनामिना गरी श्रीमतीलाई जागिर खुवाए
कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिका ४ बरगदीमा रहेको रामनारायण मोहम्मद युसुफ आधारभूत विद्यालयका पुर्व प्रधानाध्यापक शिव कुमार कलवारले विद्यालयको रकम हिनामिना गरेको आरोप लागेको छ । पुर्व प्रधानाध्यापक कलवारले ४ लाख २० हजार रुपियाँको बिल, भरपाई नबुझाई रकम हिनामिना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयको वार्षिक सामाजिक परिक्षणमा कलवारले खर्च भएको रकमको विल भरपाई बुझाउनुपर्ने देखिएको छ ।
समितिले पुर्व प्रअ कलवारसँग पटक—पटक रकम खर्च भएको बिलभरपाई माग गर्दा पनि अहिलेसम्म बुझाउन सकेका छैनन् । विद्यालय व्यवस्थापन समितिका अनुसार बिना निर्णय रकम झिकेको विभिन्न शिर्षकमा खर्च गरेको देखिएकोले बिलभरपाई माग गर्दा आनाकानी गरि आलटाल गरेको जिम्मेवारी पुरा नगरेको निजलाई गत चैत्र १४ गते नै प्रअ पदबाट हटाई ४ महिना भन्दा बढी बिति सक्दा पनि बिलभरपाई बुझाउन अटेरी गरेका छन् ।
पुर्व प्रअ कलवारले विद्यार्थीको दिवा खाजा, पालिकाले दिएको कोरोना महामारीको एकमुष्ठ रकम र विद्यालय सञ्चालनका लागि आएको रकमको बिल र भरपाई बुझाएका छैनन् । उनले दिवा खाजाको ७१ हजार, कोरोना महामारीको एकमुष्ठ रकमको ९९ हजार र दिवा खाजाकै १ लाख ५६ हजार ४५ रुपियाँ, नल्का जडान बापत ४३ हजार श्रीमतीको तलब बापत २९ हजार र विद्यालय सञ्चालनको लागि आएको २२ हजार रुपियाँको बिलभरपाई बुझाएका छैनन् ।

बिना निर्णय श्रीमतीलाई शिक्षकमा भर्ना
विद्यालयका व्यवस्थापन समितिको निर्णय बिना गैरकानुनी रुपमा प्रअ शिव कुमार कलवारले आफ्नी श्रीमतीलाई विद्यालयमा शिक्षकसमेत राखेका छन् । उनले विद्यालयमा ११ महिना काम गरेकी छन् । उनलाई मनपरि ढंगले प्रअ कलवारले मासिक १० हजारको रुपियाँको दरले श्रीमती रोश्नी चौधरीलाई ३ महिनाको तलब २९ हजार खुवाएका छन् ।
वर्तमान प्रअ गौतमलाई धम्की
पुर्व प्रअ कलवारले वतर्मान प्रअ सम्झना गौतमलाई धम्की समेत दिएका छन् । उनले गौतमको म्यासेन्जरमा भाँडा, खाजा, तार, पंखा र श्रीमतीको तलब नदिए ४,५ महिनामा के के हुन्छ के के भनि चेतावनीसमेत दिएका छन् । उनी यसरी पटक(पटक प्रअ गौतमलाई डर धम्की दिँदै आएका छन् । उनले १ लाख ३४ हजार ५ सय रुपियाँ विद्यालयबाट पाउनुपर्ने दाबी गरेका छन् । उनले ‘सर्त क्षेत्री’ फेक फेसबुक पेजबाट इमिस तथ्यांकमा ७० जना विद्यार्थी मात्र भएको उल्लेख गर्दै फर्जी नाम राखी सम्झना गौतमले १ सय ४४ विद्यार्थी भर्ना गरेर आर्थिक अनियमितता गरेर भ्रष्टाचार गरेको कलवारले गौतमलाई आरोपसमेत लगाएका छन् ।
सर्त क्षेत्रीलाई आफै ती स्टाटस हाल्न लगाएको कलवारले स्विकार गरेका छन् । उनीसँग इमिसको एडमिन भएको हुँदा प्रअ गौतमको छोराको नक्कल आइडी कार्ड बनाई भर्ना गौतम प्रअ भएको विद्यालयमा भएको र पारामाउण्ट एकेडमी बोर्डिङमा अध्ययनरत रहेको आरोप लगाएका छन् ।
तर गौतमको छोराको भर्ना प्रअ भएको सरकारी विद्यालयमा नभएको र यस विद्यालयको कुनै पनि विद्यार्थीको आइडी कार्ड बनेको छैन । उनले समाजमा बेइज्जत गराउने उदेश्यले मात्र फेक आइडीबाट पोष्ट गरिएको छ । इमिस उल्लेखित विद्यार्थी संख्या अनुसार नै विद्यालयमा विद्यार्थी भर्ना भएको पाइएको छ ।
कलवारलाई किन प्रअबाट हटाइयो
शिव कुमार कलवार प्रधानाध्यापक भएपछि विद्यालयको कुनै पनि काम पारदर्शी नहुँदा विवादित बन्दै गए । उनले मनपरि ढङ्गले विद्यालयलाई एकलौटी नियन्त्रणमा लिई सक्रिय भए । विस्तारै आर्थिक हिसाबकिताब अपारदर्शी र आर्थिक अनियमितता देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिले कलवारलाई प्रअ पदबाट मुक्त गरेपछि पालिकाले उनलाई अहिले विजयनगर (१ मा रहेको अर्रा आधारभूत विद्यालयमा शिक्षकको रुपमा सरुवा गरि पठाएको छ । गत चैत १४ गते कलवारलाई प्रअबाट पदमुक्त भएपछि सम्झना गौतमलाई प्रअको जिम्मेवारी दिएको थियोे ।
रामनारायण मो. युसुफ आधाभूत विद्यालयकी वर्तमान प्रधानाध्यापकमा जिम्मेवारी पाएकी सम्झना गौतमले पुर्व प्रअ शिव कुमार कलवारले कुनै पनि बिलभरपाई नबुझाएको बताइन् । कलवारको कार्यकालको बिलभरपाई बुझाउने निर्णय भए तापनि अहिलेसम्म नबुझाएको खर्च भएको रकमको बिलभरपाई पेस नभएको दाबी गरिन् । उनले २ लाख ४२ हजार रुपियाँ कलवारले विद्यालयलाई फिर्ता गर्नुपर्ने जनाइन् । हाजिरी बिना श्रीमतीलाई दिएको तलब २९ हजार, कोभिडको ९९ हजार, दिवा खाजाको ७१ हजार र नल्का जडान वापत ४३ हजार रुपियाँ विद्यालयलाई बुझाउनुपर्ने हिसाब देखिएको गौतमको भनाई छ ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोल्हु खटिकले शिव कुमार कलवारले कोभिड ९९ हजार खाएको बताए । कलवारले कोभिडको पैसा आएर फिर्ता भएको भने तर पछि बैँकबाट उक्त पैसा झिकिएको बैँक स्टेटमेण्टमा देखिएको अध्यक्ष खटिकको भनाई छ । दिवा खाजाको पैसा यसैगरी विद्यार्थीलाई नबाँडी आफै उक्त पैसा चलाएको बताए । १५ हजार खर्च भएकोमा ४४ हजारको बिल देखाइएको खटिकले बताए । उनले विद्यालयबाट पाउने रकम दिइन्छ र कलवारसँग भएको विद्यालयको रकम फिर्ता गर्नु अनुरोधसमेत गरे ।
यता पुर्व प्रअ शिव कुमार कलवारले अर्को विद्यालयमा सरुवा भएपछि विद्यालयको सबै कागजपत्र बुझाएको बताएका छन् । उनले नगदी, जिन्सी, सामग्री र विद्यालयको कुनै पनि कागजात आफुसँग नभएको दावी गरे । उनले विद्यालयमा सबै कागजपत्र बुझाएको बताउँदै श्रीमतीलाई विद्यालयबाट तलब नखुवाएको बताए । उनले भने “सबै बिलभरपाई, कागजपत्र विद्यालयमा बुझाएको हो । प्रअले हराएदिएपछि मेरो के गलती रु” । विद्यालयमा आएको रकम नियमसंगत खर्च र वितरण गरेको कलवारको भनाई छ ।
शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेका अनुसार विद्यालय व्यवस्थापन समिति र प्रअ विच आर्थिक अनियमितताबारे विवाद हुँदा प्रअ फेरिएको हुन् । प्रअ फेरिएपछि फेक फेसबुक आइडीबाट विद्यालयमा फर्जी नाम राखेर विद्यार्थी भर्ना देखाएर अनियमितता भ्रष्टाचार गरेको उल्लेख गरिएको कुरा विश्वासनीय र आधिकारिक नभएको बताए । उनले विद्यालय समिति र प्रअबीचको वास्तविक कुरा के हो बुझ्ने बताए । आर्थिक अनियमितता भएको पाइएमा कानुन बमोजिम आवश्यक प्रक्रिया चाल्ने बेल्बासेले बताए ।