Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट गैरआवासीय नेपालीलाई नागरिकता

२०८०, २७ मंसिर बुधबारमा प्रकाशित

हाल क्यानडामा बसोबास गर्दै आएका नितेष श्रेष्ठेलाई गैर आवासीय नागरिकता वितरण गर्दै कपिलवस्तुका प्रजिअ शंकरहरि आचार्य। तस्बिरः नारद कोहार।

नारद कोहार
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ। प्रशासन कार्यालयले हाल क्यानडामा बसोबास गर्दै आएका कृष्णनगर नगरपालिका– २ निवासी नितेष श्रेष्ठलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले श्रेष्ठलाई नागरिकता प्रदान गर्नुभएको छ। प्रजिअ आचार्यले जिल्लाबाट पहिलो व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता वितरण भएको बताउनुभयो।

नागरिकता प्राप्त गरेपछि गर्व महसुस भएको नितेष श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो ‘कपिलवस्तु जिल्लाबाट म पहिलो नागरिकको रूपमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको छु। ’ श्रेष्ठ विगत १३ वर्षदेखि क्यानडा बस्दै आएको बताउनुभयो। गैरआवासीय नेपाली नागरिकता बनाउन सहयोग गर्ने प्रजिअ लगायत जिल्ला प्रशासन कार्यालयका सम्पूर्ण परिवारलाई श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको छ।

श्रेष्ठले गत मङ्सिर १८ गते नेपाली नागरिकता त्यागेर परराष्ट्र मन्त्रालयबाट गत मंगलबार (मङ्सिर १९) मा गैरआवासीय नेपाली नागरिकको कार्ड लिनुभएको हो।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहे विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।

गैर आवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्। तर, नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानुनी व्यवस्था छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu