आफन्तबाटै महिला असुरक्षित
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ३५ वर्षीय बाबुले १३ वर्षीय छोरीलाई घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले गत चैत ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरी अनुसार डरधम्की देखाउँदै एक वर्षदेखि बाबुले लगातार बलात्कार गर्ने गरेको उल्लेख छ । पीडितको वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्य परीक्षण हुँदा बलात्कार भएको पुष्टि भयो । उजुरीका आधारमा प्रहरीले वैशाख २ गते नै आरोपित बाबुलाई पक्राउ गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलाएकामा जिल्ला अदालतले वैशाख २८ गते पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०२३ को जनवरीदेखि हालसम्म तयार गरेको तथ्याङ्क अनुसार जिल्लामा बलात्कार तथा बलात्कार प्रयासका १२१ वटा घटना भएका छन् ।
जुन गत वर्षको तुलनामा जिल्लामा भएका बलात्कारका दोब्बर घटना भए । इन्सेकले एक वर्षको अवधिमा तयार गरेका २९२ वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये १२१ वटा बलात्कारजन्य घटना रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि जयनारायण पुनले जानकारी दिनुभएको छ । जिल्ला प्रतिनिधि पुनका अनुसार गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएका बलात्कारजन्य घटनामा यस वर्ष मात्रै ८९ वटा घटना छन् । यसै गरी २६ वटा यौन दुव्र्यवहार, पाँच वटा बलात्कार प्रयास र एउटा अप्राकृतिक मैथुनको घटना इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकका जिल्ला प्रतिनिधि पुनका अनुसार बलात्कारजन्य घटनामा एक बालकसहित १३१ जना महिला पीडित भएका छन् । जसमा ७९ जना बालिका छन् । उहाँले बलात्कारजन्य घटनामा एक बालकसहित १३१ जना पीडक रहेको र तीमध्ये धेरै न्याय प्रक्रियामै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्सेकले जिल्लामा भएका घटनाको अभिलेख तयार गर्ने गर्दछ । घटनालाई आधार बनाएर हेर्दा गत वर्षको तुलनामा यस वर्ष बलात्कारजन्य घटना वृद्धि भएका छन् ।” इन्सेकको अभिलेख अनुसार गत वर्ष जिल्लामा ५५ वटा मात्रै बलात्कारजन्य घटना भएका थिए । बलात्कारका घटनामा चार वर्षीय नाबालिकादेखि ७३ वर्षीय महिलासम्म बलात्कृत भएका छन् । बलात्कारका अधिकांश घटनामा नातेदारकै संलग्नता हुने तथ्याङ्कले देखाएको प्रतिनिधि पुनले बताउनुभयो ।