Connect with us
Kapilvast Forest

लाइसेन्स ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मन्त्री थापाको निर्देशन

२०८०, २६ पुष बिहीबारमा प्रकाशित

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका छन् ।

बुधबार दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको कार्यकक्षमा मन्त्री थापाले सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका हुन् ।

‘आफ्नो सवारी साधन हुँदाहुँदै शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियमको जनस्तरबाट व्यापक आलोचना भइरहेको छ, त्यसैले स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ मन्त्री थापाले भने ।

चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले स्वेच्छाले सवारी साधन ट्रायलका क्रममा प्रयोग गर्न पाउनुपर्ने माग उठेका बेला मन्त्री थापाले सर्वसाधारणलाई सहज हुने गरेर सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन र छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएको बताए ।

‘सचिव र यातायातका हाकिमहरुसहितका कर्मचारीहरुलाई के-के निर्णय गर्नुपर्छ, के-के तयारी गर्नुपर्छ गर्नुस् तर ट्रायल दिँदा सवारी साधनको प्रयोग स्वेच्छिक हुनुपर्छ र सेवाग्राहीलाई सहज हुने गरेर परिणाम देखिने गरी काम गर्नुपर्छ भनेको छु,’ थापाले भने ।

मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरुमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन पनि निर्देशन दिएका छन् । ‘बुटवल, तुलसीपुरतिर झोलामा खोला भन्याजस्तो ट्रायल सेन्टरहरु पनि दर्ता गरेर राखेको तर सन्चालनमा नरहेको गुनासो छ । सन्चालनमा रहेका पनि मापदण्ड नपुगेको भन्ने छ,’ थापाले भने, ‘त्यही भएर अनुगमन गरेर खारेज गर्नुपर्ने खालका भए खारेज गर्न र मापदण्ड बाहिर भएकालाई मापदण्डमा ल्याउन पनि निर्देशन दिएको छु ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu