कोशीको ढोका खोल्ने विषयमा दुवै देशबिच समन्वय गर्न जरुरी : महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नका लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबिच समन्वय गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमसम्बन्धी सरोकारवालासँगको छलफलमा बोल्नुहुँदै महानिरीक्षक अर्यालले यस्तो बताउनुभएको हो ।
उहाँले सिँचाइ, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबिच समन्वय गरी कोशीमा ३ मिली क्युसेकभन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले दुवै देशबिच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । अहिलेसम्म दुबै पक्षबिच समन्वय र समझदारी नदेखिएको उहाँको भनाइ छ ।
महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बाढी पहिरो जस्ता जोखिमको उद्धारका लागि हेबी इक्युप्मेण्टहरु सरकारसँग भए पनि सुरक्षा निकायहरुसँग जोडिन नहुने जिकिर गर्नुभयो । उहाँले हेबी सवारी साधनहरु सुरक्षा निकायलाई दिए उद्धारमा आफैँ सवारी चालक राखेर सञ्चालन गर्ने बताउनुभयो । उहाँले बाढी पहिरोका कारण काठमाडौँ आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द हुने अवस्था आउन दिनेगरी सहजिीरण गर्ने तयारी गर्न आवश्यक रहेको बताउनुभयो ।