लुम्बिनी स्थित मायादेवी मन्दिरमा अनाधिकृत मुर्ति
प्रहलाद यादव
लुम्बिनी स्थित मायादेवी मन्दिर भित्र अनधिकृत रूपमा मूर्ति राखिएको छ । पूरातत्व महाशाखाको अनुमति बिना लुम्बिनी बिकास कोषले २५६८औं बुद्ध जयन्तीको अवसरमा जेठ १० गते सो मूर्ति राखेको हो ।
विश्वसम्पदा सूचीमा सूचिकृत धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वको जीवन्त सम्पदास्थल मायादेबी मन्दिर भित्र नियम बिपरीत अनधिकृत नयाँ बुद्ध मूर्ति राखिएको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।
युनेस्को समेतले सम्पदा स्थलमा संरचनात्मक परिवर्तन र अनधिकृत कार्यको विषयमा चिन्ता व्यक्त गरेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।
उनले भने, “विश्व सम्पदास्थललाई खतराको सूचीमा राख्न किन नपर्ने भनेर युनेस्कोले लुम्बिनी विकास कोषलाई १० बुँदे स्पष्टीकरण समेत माग गरेको स्थितीमा मन्दिरभित्र उसको सहमति बिना नयाँ मूर्ति राख्नु प्राचीन सम्पदा संरक्षण ऐन समेतको मान्यता बिपरीत छ, ।”
विश्व सम्पदास्थलको मूल्यमान्यता विपरित मायादेवी मन्दिरमा भइरहेको अनधिकृत कार्यले जीवन्त सम्पदामाथि प्रहार भएको खाँले बताए् । उनले भने, “युनेस्को द्वारा सूचीकृत विश्व सम्पदास्थलको धार्मिक, सांस्कृतिक र पूरातात्विक महत्वलाई जोगाउन सम्पदास्थल दिशानिर्देशहरूको कडाईका साथ पालना सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।”
“मायादेबी मन्दिरमा नयाँ गजुर स्थापना गरिएको छ, जसलाई थाइल्यान्डका दाताहरूले आर्थिक सहयोग गरेका थिए ।” यो गँजुर स्वयम्भु स्तुपाको आकारमा डिजाइन गरिएको भन्दै महाभियानका सह–संयोजक मेघनाथ आचार्यले आपत्ती जनाए ।
आचार्यले, पुरातात्विक महत्वको मन्दिरलाइ मर्मत सम्भार तथा जीर्णोद्धार गर्ने बहानामा कोषले स्थानीयलाइ मान्य नहुनेगरि स्वरूप परिवर्तन गर्ने योजना कार्यान्वयनमा लागेकोे बताए ।
मायादेबी मन्दिरको संरचना परिवर्तन हुनेगरि जीर्णोद्धारको कार्य तथा मन्दिरभित्र अनधिकृत रुपमा नयाँ मूर्ति राख्ने कार्यले लुम्बिनीको परम्परागत धार्मिक तथा सांस्कृतिक महत््वलाई प्रभाव पार्न सक्ने भन्दै युनेस्को समेतले सावधानी अपनाउन आग्रह गरेको लुम्बिनी बिकास कोष पूरातत्व महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख हिमाल उप्रेतीले स्वरूप परिवर्तनको काम र नयाँ मूर्ति राख्दा लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वमा असर पर्ने स्वीकार गरे । युनेस्कोले त्यस्ता गतिविधिमा सावधानी अपनाउन सुझाव दिएको पनि उनले बताए । उप्रेती आफैंले नयाँ मूर्ति स्थापनाबारे अनभिज्ञ रहेको दाबी गर्दै आन्तरिक सञ्चार र अनुगमनमा त्रुटि भएको बताए ।