Connect with us
Kapilvast Forest

त्रिशूलीमा हराएको बस खोज्न ठूलो चुम्बक प्रयोग गरिने, चितवनको गोलाघाटसम्म खोजिने

२०८१, ३० असार शनिबारमा प्रकाशित

शुक्रबार बिहान त्रिशुलीमा खसेको बस खोज्न आइतबार ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।

घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताएका छन् ।

त्यस्तै नारायणी नदी तटीय क्षेत्रमा र्‍याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले खोजी तथा उद्दारका लागि सबै खालका प्रयासहरुलाई जारी राखेको जनाएको छ ।

शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।

यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।

शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका- ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu