पूर्वसांसद शाहद्वारा प्रहरी र प्रशासनलाई नागरिक हितमा काम गर्न आग्रह
सनिउल्ला धोबी,कपिलवस्तु –
नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले प्रहरी र प्रशासनलाई नागरिकको हितमा काम गर्न आग्रह गर्नु भएको छ ।
कपिलवस्तुको क्षेत्र नं ३ बाट लगातार १५ वर्षभन्दा बढी सांसद रहनु भएका शाहले राज्यका निकायहरूले नागरिकलाई अनावश्यक दुःख दिएको गुनासो आइरहेकाले सावधानी अपनाउन सचेत गराउनु भएको छ ।
शाहले ट्राफिक प्रहरीसहित अन्य प्रशासनिक निकायहरूले जनतालाई सेवा दिनुको सट्टा विभिन्न बहानामा दुःख दिइरहेको जनगुनासो आएको बताउँदै, उनीहरूलाई संयमित भएर नागरिकहरूको हितमा कार्यसम्पादन गर्न आग्रह गर्नु भयो ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, “जनतालाई हैरान-परेशान गर्ने काम नहोस् । प्रहरी र प्रशासन संयमित भएर नागरिकहरू प्रति उत्तरदायी भई काम गर्नुपर्छ।”
पूर्व सांसद शाहले राज्यका निकायहरूले नीति, नियम र कानुनको पालना गर्दै नागरिकलाई थप बोझ नथप्ने गरी व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।
उहाँका अनुसार, जनताले राज्यका निकायहरूबाट सहयोग र सेवा अपेक्षा गर्छन्, तर जनताको हितमा काम गर्नुपर्ने निकायहरूले जनतालाई झन् समस्या थपिदिएको गुनासो व्यापक रूपमा आइरहेको छ ।
शाहले यस प्रकारको व्यवहारले राज्य र नागरिकबीचको दूरी बढाउने भन्दै प्रहरी र प्रशासनले आफ्नो जिम्मेवारी जिम्मेवारपूर्ण ढंगले निभाउनुपर्ने आवश्यकता औंल्याएका छन । उहाँले नागरिकको समस्या बुझेर समाधान खोज्नका लागि आवश्यक सावधानी अपनाउनसमेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारका निकायहरू नागरिकहरूको सेवा गर्न बनेका हुन्, तर यदि तिनले जनतालाई दुःख दिने काम गर्छन् भने त्यसको समाधान तुरुन्त खोज्नुपर्छ।”