शिक्षाको गुणस्तरमा ध्यान दिन पूर्वसांसद शाहको जोड
सनिउल्ला धोबी– नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
मधेसी समुदायका बालबालिका शिक्षित भए मधेस क्षेत्र समग्रमा शिक्षित र सक्षम हुने बताउँदै शाहले विद्यालयको गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने जानकारी दिनुभयो ।
शिव प्रताप सरस्वती माध्यमिक विद्यालय, महाराजगन्ज नगरपालिका-६, भलवारीमा शैक्षिक सामग्री वितरण कार्यक्रममा सम्बोधन गर्दै पूर्वसांसद शाहले उक्त कुरा बताउनु भयो ।
उक्त कार्यक्रम सिद्धार्थ बैंक लिमिटेडको चन्दौटा शाखाको सहयोगमा विद्यालयका २ सय बालबालिकालाई झोला र टिफिन बक्स वितरण गरिएको थियो ।
सिद्धार्थ बैंक लिमिटेडको चन्दौटा शाखाका प्रमुख भिम केसीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग पुर्याइएको बताउनुभयो ।
विद्यालय प्रशासनको मागअनुसार शैक्षिक सामग्री वितरण गरिएको केसीले जानकारी दिनुभयो ।
समाजसेवी तथा युवानेता गोविन्द केसीले पनि बालबालिकाको शैक्षिक स्थिति सुधार गर्न झोला र टिफिन बक्स वितरण गरिएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक राम बहादुर चौधरीले शैक्षिक सामग्री वितरणका लागि आभार प्रकट गर्दै यो सहयोगले विद्यार्थीहरूको शैक्षिक प्रगति गर्न सघाउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता अभिभावक संघका अध्यक्ष जय करण पासीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन युवानेता अमर पौडेलले गर्नु भयो ।