सूचनाको हकले लोकतन्त्र बलियो बनाउँछ: सांसद केसी
लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले प्रशिक्षणको उद्घाटन मन्तव्य दिनुहुँदै, सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने र नागरिकलाई सशक्त बनाउने महत्वपूर्ण साधन भएको बताउनु भयो ।
कपिलवस्तुमा सूचनाको हक सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले यस्तो बताउनु भएको हो ।
सूचनाको हकको लागि राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष तारा भण्डारीले मन्तव्य दिँदै सूचनाको हकलाई प्रभावकारी बनाउन सञ्चारकर्मी र सरोकारवालाहरूको जिम्मेवारी महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रशिक्षकहरूमा सूचनाको हकको लागि राष्ट्रिय महासंघका अभियन्ता राकेश मिश्र, अम्बिका परियार, र हिरामति चौधरी रहेका थिए ।
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सूचनाको पहुँचले नागरिकलाई सचेत बनाउनुका साथै सरकारी कामकाजमा पारदर्शिता ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका सूचना अधिकारी बिपिन खनाल, राष्ट्रिय सूचना महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रिया बस्नेत, र पत्रकार महासंघ प्रदेश सदस्य चिन्ता परियारले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रशिक्षण कार्यक्रम राष्ट्रिय सूचना महासंघ कपिलवस्तुका अध्यक्ष बसन्त बन्जाडेको अध्यक्षतामा, प्रदेश सदस्य अर्जुन बेल्वासेको स्वागत मन्तव्य र अभियन्ता सनिउल्ला धोबीको संचालनमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा ४० भन्दा बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।