Connect with us
Kapilvast Forest

एक वर्षमा ३ हजारले लिए एनआरएन नागरिकता

२०८१, १८ आश्विन शुक्रबारमा प्रकाशित

एक वर्षको अवधिमा करिब तीन हजारले गैरआवासीय नेपाली नागरिकता लिएको पाइएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दुई हजार ९४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

एक हजार ८६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २३७ मात्रै थियो । गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो ।

नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भए तापनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो ।

नेपाल कानून आयोगले गत भदौ २७ गते प्रकाशित गरेको ‘गैर आवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कार्यान्वयन सम्बन्धी अध्ययन’ प्रतिवेदन अनुसार यस अवधिमा ६९ जिल्लाबाट गैर आवासीय नेपाली नागरिकता जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयहरूबाट गैरआवासीय नेपाली नागरिकता लिनेहरू र नागरिकता त्याग गर्नेको संख्या अद्यावधिक भइरहने भएकाले यो संख्या अझै बढी हुन सक्ने जनाइएको छ ।

एनआरएन नागरिकता लिनेहरु काठमाडौंमा अधिक

काठमाडौंबाट गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या अधिक छ । काठमाडौंबाट ९ सय ८८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् भने ललितपुरबाट २३६ जनाले लिएका छन् ।

काठमाडौं र ललितपुरपछि बढी गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र कास्कीबाट जारी भएको छ । कास्कीबाट १८३, चितवनबाट १७०, भक्तपुरबाट १२९ र झापाबाट १०१ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

अन्य जिल्लाबाट एक सय भन्दा कम संख्यामा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ । पाँच जिल्लाबाट ५० देखि माथि संख्यामा गैरआवासीय नेपाली नागरिकता वितरण भएको छ ।

रुपन्देहीबाट ९२, मोरङबाट ८७, गोरखाबाट ५४, मकवानपुर र काभ्रेपलाञ्चोकबाट ५०/५० जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

१३ जिल्लाबाट ५० भन्दा कम र २० भन्दा बढी गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ । गुल्मीबाट ४८, सोलुखुम्बुबाट ४७, सुनसरीबाट ४४, नुवाकोटबाट ४३, स्याङ्जाबाट ४०, दाङबाट ३७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट ३३, म्याग्दीबाट ३२ र तनहुँबाट ३१ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

धादिङबाट २८, लमजुङबाट २५, पाल्पाबाट २३ र बागलुङबाट २१ वटा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ ।

४५ जिल्लाबाट २० भन्दा कम संख्यामा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट १९, अर्घाखाँची र सर्लाहीबाट १८/१८, पर्वत र सिन्धुलीबाट १७/१७, इलाम र कैलालीबाट १६/१६ वटा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ ।

भोजपुरबाट १५, कन्चनपुरबाट १४ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । बारा, बाँके र संखुवासभाबाट १३/१३ वटा, धनुषा, बर्दिया र उदयपुरबाट १२/१२ वटा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ ।

दोलखाबाट ११ र रामेछापबाट १० जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

सिन्धुपाल्चोक, सप्तरी र पर्साबाट ९/९ वटा, दैलेख र कपिलवस्तुबाट ८/८ वटा, पाँचथर डोटीबाट ७/७ वटा, रुकुम पश्चिम र ताप्लेजुङबाट ६/६ वटा, प्युठान, तेह्रथुम र सिराहाबाट ५/५ वटा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ ।

ओखलढुंगाबाट ३ वटा जारी हुँदा सात जिल्लाबाट २/२ वटा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ । एउटा मात्रै गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी भएका जिल्लाको संख्या ८ वटा छ ।

दुई/दुई वटा मात्रै गैरआवासीय नेपाली नागरिकता जारी भएका जिल्ला हुन्– खोटाङ, धनकुटा, डडेलधुरा, सुर्खेत, महोत्तरी, दार्चुला र रसुवा । एउटा मात्रै गैरआवासीय नेपाली नागरिकता जारी भएका जिल्लाको सूचीमा रुकुमपूर्व, जुम्ला, डोल्पा, बैतडी, बझाङ, सल्यान, मनाङ र अछाम छन् ।

तेस्रो पुस्तासम्मलाई सुविधा

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरुले नेपालमा राजनीतिक बाहेकका अधिकार प्रयोग गर्न सक्छन् । उनीहरूले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउँछन् । जस अन्तर्गत नेपालमा लगानी गर्न, व्यापार व्यावसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाउँछन् ।

नेपालमा बैंक खाता खोल्न, विदेशी मुद्रामा कारोबार गर्ने गरी बैंक खाता खोल्न, लगानीका लागि खुला गरिएको उद्योग व्यवासायका लगानी गर्न सक्छन् । यो अधिकार संविधानत २०७२ सालमै गैरआवासीय नेपालीले पाएका थिए । २०७२ सालमा जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ ।

कानून बन्न समय लागेका कारण आठ वर्षपछि ३० असोज २०८० बाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो ।

नागरिता सम्बन्धी ऐनअनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ।

यो कानूनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नाति–नातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन् ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट शपथ लिनुपर्ने हुन्छ । ‘नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन’ भनेर प्रतिबद्धता समेत जनाउनुपर्ने हुन्छ ।

नागरिकता ऐन अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिन सक्छन् । यस्तो निवेदनसँगै आफूले प्राप्त गरेको नेपाली नागरिकताको सक्कलप्रति साथमा बुझाउनुपर्छ ।

प्रमुख जिल्ला अधिकारीले नागरिकता त्याग सम्बन्धी सूचना दर्ता किताबमा राखेपछि नेपाली नागरिकता समाप्त हुन्छ । त्यसपछि गैरआवासीय नेपाली नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढ्छ ।

अघिल्लो पुस्ता नेपालको नागरिक रहेकाको हकमा गैरआवासीय नेपाली नागरिकता लिन चाहे अघिल्लो पुस्ताले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ ।

निवेदन दिने व्यक्ति वा उसको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण भएपछि मात्रै गैरआवासीय नेपाली नागरिकता लिने प्रक्रिया अगाडि बढ्छ ।

त्यसपछि सम्बन्धित व्यक्ति विदेशी मुलुकको नागरिकता भएको प्रमाण चाहिन्छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको हुनुपर्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu