इतिहासमा पहिलो पटक हजयात्रीले रकम फिर्ता पाए: अध्यक्ष मिया
सनिउल्ला धोबी- नेपाल हज समितिका अध्यक्ष इश्रामुल्ला मियाले इतिहासमा पहिलो पटक हजयात्रीहरूले रकम फिर्ता पाएको बताउनु भएको छ ।
अध्यक्ष मियाले भन्नुभयो हामीले प्रत्येक हाजयात्रीलाई रु ४ लाख १५ हजार जम्मा गर्न निर्णय गरेका थियौं, जसमध्ये रु ३ लाख ९१ हजार ५ सय ९३ खर्च भएको र बाकी २३ हजार ७ सय ४ रूपैया हज यात्रीको खातामा फिर्ता गरेका छौ ।
नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार आयोजित हज सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मियाले हज यात्रालाई ब्यवथित गर्दै लगेको बताउनु भयो ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य मङ्गल प्रसाद गुप्ताले समितिले व्यवस्थित रूपमा हजयात्रीहरूलाई मक्का-मदिना पुर्याउन गरेको व्यवस्थाको प्रशंसा गर्दै, यात्रा गर्दा आउने समस्याहरूलाई गम्भीर रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।
अर्का प्रतिनिधिसभा सदस्य सेरज अहमद फारुकीले हजयात्रीहरूलाई नियम र कानुनको पालना गर्न आग्रह गरे।
मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले हज समिति र मुस्लिम आयोगबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, युवा नेता रहिस शाह, अक्रम पठान, र मक्सुद नेपालीलगायत मौलानाहरुले पनि आआफ्ना धारणा राखेका थिए।
यस वर्ष साउदी सरकारले नेपाललाई हज यात्राका लागि १,२०० कोटा उपलब्ध गराएको समितिका सदस्य मिर्जा रासिद बेगले बताए ।
हजयात्रीहरूले जानकारीको अभावका कारण विभिन्न समस्याहरू झेल्नुपरेकोले सचेतना कार्यक्रमको आयोजना गरिएको राशिदले बताउनुभयो ।
नेपाल हज समितिका अनुसार अहिले हजको अवधि ३२ दिनको हुने बताइएको छ ।
हजयात्रीहरूलाई सजग बनाउनु र उनीहरूको यात्रालाई सहज बनाउन समिति र सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको हो ।