Connect with us
Kapilvast Forest

सांसद तथा पुर्वमन्त्री यादवद्वारा चार कोठे भवनको शिलान्यास

२०८१, २१ पुष आईतवारमा प्रकाशित

सनिउल्ला धोबी –

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादवले कपिलवस्तुको विजयनगर गाउँपालिका स्थित दुधाधारी नमुना माध्यमिक विद्यालयमा निर्माण हुने चार कोठे भवनको शिलान्यास गर्नुभएको छ ।

सांसद यादवले नमुना विद्यालय विकास कोषमार्फत बिनियोजित रकमबाट बन्ने भवनको शिलान्यास गर्नु भएको हो । पुर्वमन्त्री समेत रहेका यादवले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि पहल गर्ने बताउनु भयो ।

शिलान्यास समारोहमा उहाँले विद्यार्थीहरूको शैक्षिक सुधार र सुविधाका लागि आफू सँधै प्रतिवद्ध रहेको बताउनुभयो । “शिक्षा हरेक व्यक्तिको आधारभूत अधिकार हो, र यसको प्रवर्द्धनका लागि मेरो साथ निरन्तर रहनेछ,” यादवले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीका अनुसार विद्यालयमा विद्यार्थीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएकाले भवनको आवश्यकता महसुस भएको थियो । “सांसदज्यूको पहलमा अब यो समस्या समाधान हुनेछ,” कोरीले भन्नुभयो ।

यसै अवसरमा सांसद यादवले विद्यालयका विद्यार्थीहरूको आवतजावतका लागि बस खरिदका लागि पनि बजेट छुट्याइएको जानकारी गराउनुभयो ।

अध्यक्ष कोरीले बस खरिद प्रक्रिया अघि बढिसकेको बताउँदै निकट भविष्यमा विद्यार्थीहरूले यो सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक, र विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले सांसद यादवको प्रयासको प्रशंसा गर्दै विद्यालयको समग्र विकासमा उहाँको भूमिकालाई महत्वका साथ लिएका थिए ।

चार कोठे भवनको निर्माणले विद्यालयको भौतिक संरचनामा सुधार ल्याई विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।