Connect with us
Kapilvast Forest

डान्सिङ्गको नाममा अवैध रकम असुली, नगरपालिका मौन

२०८१, ८ माघ मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकामा डिटु कला केन्द्र नामक संस्थाले अभिभावक तथा विद्यार्थीहरूबाट अवैध रूपमा रकम असुली गरिरहेको छ ।

दीपक वर्मा नाम गरेको फेसबुक आइडीबाट गायन नित्यको महासंग्राम चन्द्रौटा डान्सिङ र सिङ्गिङ कम्पिटिसन सिजन ३ रियालिटी सो भनेर व्यापक रुपमा प्रचार गरी अवैध रुपमा रकम असुली गरेको अभिभावकले गुनासो गरेका छन् ।

आयोजकले अभिभावक तथा सहभागीहरूबाट लिएको रकमको कुनै पनि रसिद र भरपाई समेत दिएको छैन ।

शिवराज नगरपालिकामा रहेको विद्यालयमा निःशुल्क रुपमा तालिम दिन्छु भन्दै उनीहरुले अनुमति समेत लिएको छ ।

डान्स डान्सिङ र गायनतर्फ प्रथम, ३०/३० हजार,दोस्रो २०/२० हजार र तेस्रो १०/१० हजार पुरस्कार दिन्छु भन्दै रकम असुली गरेको शिवपुरको एक अभिभावकले जानकारी दिए ।

पहिलो चरणमा whatsapp मा भिडियो बनाएर पठाएपछि सेलेक्ट भएको अर्को दिन रु. ५ सय बुझाउनुपर्ने त्यसपछि ३ हजार बुझाउनुपर्ने नियम राखी अभिभावकबाट रकम लिएको शिवपुर उमरीका अर्का अभिभावकले बताए ।

दीपक वर्माले स्थानीय बालबालिकाबाट रु.५०० लिएको स्वीकार गरेका छन । नगरपालिकाबाट अनुमति लिएर डान्स क्रियाकलाप सञ्चालन गरेको बर्माले बताउनुभयो ।
शिवराज नगरपालिकाले समेत पुसको २१ गते अनुमति दिएको पत्रसमेत उनले देखाए ।

शिवराज नगरपालिकाको पत्रमा शैक्षिक गतिविधिलाई असर नगर्ने गरी कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गरिएको व्यहोरा उल्लेख गरिएको छ ।

तर यता आयोजकले स्कुल लागेकै दिन होटल विराटमा बृहत कार्यक्रम गरी अडिसन गरिरहेको छ ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरू स्कुल छोडेर जाने गरेको अभिभावकको भनाइ छ ।

कतिपयको भनाइ अनुसार चन्द्रौटा महोत्सवलाई प्रभावित पार्नका लागि केही व्यक्तिले यस्तो किसिमको क्रियाकलाप सञ्चालन गरेको बताएका छन ।

त्यस्तै शिवराज नगरपालिकाभित्र रहेका विभिन्न कला केन्द्रका प्रमुखहरूले समेत उक्त कार्यको विरोध गरेका छन ।
उनीहरूले भने पहिलो र दोस्रो सिजन नभईकन एकैपटक तेस्रो सिजन कसरी भयो ? यसमा पक्कै पनि सेटिङ छ ।

यस विषयमा शिवराज नगरपालिकाले अझैसम्म कुनै पनि आधिकारिक भनाइ सार्वजनिक गरेको छैन ।