Connect with us
Kapilvast Forest

वन संरक्षण गर्नु सबैको दायित्व हो :वनमन्त्री कलवार

२०८१, २७ चैत्र बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरन प्रसाद कलवार (सन्तु) ले कपिलवस्तुको शिवराज साझेदारी वन क्षेत्रको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री कलवारले वन संरक्षण सबैको साझा दायित्व भएको बताउँदै समुदायको सक्रिय सहभागितामै दिगो वन व्यवस्थापन सम्भव हुने धारणा राख्नुभयो ।

उहाँले कुनै व्यक्ति वा संस्थाले मात्र वन जोगाउन नसक्ने उल्लेख गर्दै संरक्षणका प्रयासहरू सामुदायिक तहमै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

शिवराज साझेदारी वन अन्तर्गतको कासवासा वन क्षेत्रको अवलोकन गर्दै मन्त्रीको टोलीले वन व्यवस्थापन, संरक्षण तथा सम्भावनाबारे जानकारी लिएको थियो ।

अनुगमन टोलीमा लुम्बिनी प्रदेश सभा अन्तर्गतको वन तथा वातावरण समिति सभापति विश्वप्रेम पठाक, प्रदेशसभा सदस्यहरू, विभिन्न वन डिभिजन कार्यालयका प्रमुख, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।

गौतम बुद्ध वन डिभिजन कार्यालयका प्रमुख राजु क्षेत्रीले राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वनको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा टोलीलाई जानकारी गराउनुभएको थियो ।

शिवराज साझेदारी वनका अध्यक्ष हरिप्रसाद पोखरेलले वन संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण भए पनि प्रदेश सरकारबाट दीर्घकालीन विशेष योजना आवश्यक रहेको सुझाव दिनुभयो ।

अनुगमन टोलीमा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही लगायत जिल्लाका वन कार्यालय प्रमुख, लुम्बिनी प्रदेशका वातावरण विषयक पत्रकारहरू, सामुदायिक वन महासंघका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

वन संरक्षणको प्रभावकारिता मूल्याङ्कन तथा नीति निर्माणका लागि आधार तय गर्न गरिएको यो अनुगमन कार्यक्रमले आगामी दिनमा थप प्रभावकारी रणनीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu