Connect with us
Kapilvast Forest

किन रोकिँदैन राजस्व छली ? भन्सार बिन्दूबाटै छुटेका गाडी पक्राउ गर्दै प्रहरी

२०८२, ८ बैशाख सोमबारमा प्रकाशित

रूपन्देही –

कृष्णनगर भन्सार कार्यालयबाट जाँच पास भएर बाहिर आएका ट्रकहरु बारम्बार राजस्व छलीमा संलग्न भेटिँदा पनि कारबाही भने कमजोर देखिएको छ । पछिल्लोपटक चैत २५ गते कृष्णनगर भन्सारबाट पास भएको फलफुल बोकेको ट्रक दाङको भालुवाङबाट नियन्त्रणमा लिएपछि फेरि एकपटक भन्सार प्रणालीमाथि प्रश्न उठेको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्कीको निर्देशनमा पक्राउ गरिएको यूपी १४ जेटी ०५३३ नम्बरको ट्रकमा उल्लेखित भन्दा दोब्बर तरबुजा भेटिएको थियो ।

भारतको नासिकस्थित ओम साई फ्रुट कम्पनीबाट दाङको लमहीका सुरेश फलफुल पसलका लागि पठाइएको ट्रकमा ८ टन ७ क्विन्टल भन्सार गरिएकोमा १८ टन तरबुजा भेटिएको कोहलपुर राजस्व कार्यालयले जनाएको छ ।

 

राजस्व कार्यालयले ५ लाख ८९ हजार १ सय धरौटी र ५० हजार जरिवाना तिराएर ट्रक छाडेको हो । यसैगरी, वैशाख २ गते भन्सारबाट पास भई तौलिहवा गइरहेका दुई ट्रक पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्याज लोड गरिएको युपी ४७ टी ३४२८ र एमएच १५ भि ७६६२ नम्बरको ट्रकमा भन्सारभन्दा ४ टन बढी माल भेटिएको बुटवल राजस्व कार्यालयले जनाएको छ । आयातकर्ता गुप्ता आलु प्याज सप्लायर्सलाई १० लाख धरौटी र ५० हजार जरिवाना गरिएको छ ।

यस्ता घटनाहरु एकपटकको संयोग होइनन्। पछिल्ला तीन महिनामा मात्र कृष्णनगर भन्सारबाट जाँच पास भएका ११ ट्रक बुटवल र १ ट्रक कोहलपुर राजस्व कार्यालयमा नियन्त्रणमा परी कारबाही भइसकेको छ। यस अवधिमा अंगुर, सिद्रा माछा, कपडा, कच्चा माल लगायतका सामग्रीमा समेत तौल हेराफेरीका घटना सार्वजनिक भएका छन् ।

भन्सार प्रमुख फडिन्द्र खतिवडाले भने आफूहरुको काम भन्सार पास गर्नु मात्र भएको र नियन्त्रण तथा अनुसन्धान प्रहरी र राजस्वको क्षेत्राधिकारमा पर्ने बताएका छन् । जनशक्ति अभाव देखाउँदै उनले समस्या क्रमशः सुधार हुँदै जाने दाबी गरे ।

तर, वास्तविकता भने फरक देखिन्छ । भन्सारले आफ्नै तौल मेशिन सञ्चालन नगर्नु, ऐजेन्ट र आयातकर्ताको सेटिङमा मालवस्तु कम देखाएर पास गर्नु, पटक–पटक गलत विवरणमा कारबाही नहुनु लगायतका कारणले भन्सारभित्रैबाट राजस्व छली भइरहेको आरोप बलियो बन्दै गएको छ ।

भन्सार एजेन्ट निरन्जन श्रीवास्तवको संलग्नतामा सबैभन्दा धेरै राजस्व छली फेला परेको भन्सार स्रोतको भनाइ छ । कतिपय एजेन्टहरू त घरमै बसेर काम गर्छन् भने जाँचपासमा संलग्न विचौलियाहरूले नक्कली बिल–बिजक बनाएर कार्यालयको आँखामा छारो हालिरहेका छन् ।

राजस्व छली रोक्न प्रहरी सक्रिय देखिए पनि भन्सार प्रशासनको भूमिका भने अझै गम्भीर समीक्षा र सुधारको खाँचोमा देखिन्छ ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माले केही व्यवसायीको गलत सोँचले यस्तो भएको र गलत भएकोलाई कारबाही गर्नुपर्ने बताए । उनले फलफुल तरकारीजस्ता तत्काल बिग्रने वस्तुहरू तौलमा समस्या देखिए राजश्वमा भन्दा भन्सारमा पठाउनुपर्ने धारणा रहेको बताए ।

‘फलफुल तरकारी तत्काल प्रयोग नभए बिग्रनसक्छ, राजश्वमा गए प्रकृयामा ढिलाइ हुन्छ, त्यसरी पक्राउ परेका गाडी तत्काल भन्सारमा पठाएर कारबाही गराउनुपर्ने हुन्छ’, उनले भने । ‘व्यापारीले पनि बदमासी गरेका उदाहरण छन्, कस्टमलाई झुक्काएका छन्, कस्टमका कर्मचारीले पनि गलत गरेका छन्, अर्काे पुरानो भन्सार दरका कारण पनि यस्तो भएको छ“ शर्माले भने“यसलाई मिलाउन ढिलाइ गर्नुहुँदैन ।’

केही दिनअघि अर्थमन्त्रालयको राजश्व परामर्श समितिले अर्थमन्त्री तथा अर्थसचिवकै उपस्थितिमा रूपन्देहीमा गरेको आगामी बजेटको छलफल कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले धेरै वर्ष पुरानो भन्सार नीतिले व्यवसायीलाई हैरानी परेको बताएका थिए । ‘भारतबाट फलफूल गाडीमा आउँछ, कर्मचारीले भन्सार कागजात बनाएर पठाउँछन् तर नेपालका अन्य ठाउँमा प्रहरीले समाउँछ तौल फरक पर्याे भनेर, अनि व्यवसायीलाई समस्या, कि त भन्सारअगावै तौल मिलाउनुपर्छ’, उनले भने ।

उनको समस्याको जवाफमा भन्सार विभाग महानिर्देशक महेश भट्टराईले यो विषयमा समस्या समाधान गर्न प्रकृया अघि बढाइसकेको, सीमा क्षेत्रमा यो समस्या देखिएको र यसको समाधानका लागि भन्सार दरमै हेरफेर हुनेगरी निर्णय हुने बताएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu