सरकारी अस्पतालमा निशुल्क औषधी छैन, सशुल्क औषधी फालाफाल

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा सर्वसाधारणका लागि दिने भनिएको निशुल्क औषधी सकिएको छ । तर, त्यही अस्पतालको स्टोररुममा सशुल्क औषधी भने फालाफाल तथा यति धेरै छ कि गन्नै नसकिने ।
यो अवस्था हेर्दा लाग्छ – गरिब बिरामीको ज्यानको कुनै मूल्य छैन, तिनीहरूको पीडा देख्ने शिवराज नगरपालिका तथा अस्पताल प्रशासन नदेखेझै गरेको छ ।
अस्पतालका प्रमुख तथा इन्चार्ज बिरेन्द्र मिश्राले खुलेआम भने, “निशुल्क औषधी त सकियो, तर पैसा तिरेर किन्न खोज्नेका लागि चाहिँ सबै औषधी प्रशस्त छ ।” मिश्राको यस्तो अभिव्यक्तिले नगरपालिका प्रशासनको नागरिकको स्वास्थ्य संवेदनहीनता माथी प्रश्न चिन्ह उठेको छ ।
शिवराज नगरपालिका १ शिवपुरकी ७२ वर्षीया गोमा अधिकारी रुँदै भन्नुहुन्छ, “निशुल्क औषधी पाइन्छ भन्ने आशमा शिवपुरबाट आएको थिएँ । पैसा छैन, अब के मरु ?” उहाको यो पीडा सरकारी लापरबाहीको ज्वलन्त उदाहरण हो ।
त्यस्तै शिवराज–३ का भिम मगरको गुनासो झन् कठोर छ – “सरकारी अस्पतालमा पनि अब गरिबले उपचार पाउने होइन रहेछ । पैसा हुने बाँच्ने, नहुने मर्ने !”
शिवराज नगरपालिकाले सन्चालन गरेको अस्पतालमा रेबिजको भ्याक्सिन, ब्लड प्रेसर र सुगरका औषधीजस्ता अत्यावश्यक औषधी नभएर दिनहुँ बिरामी फर्कनु परेको छ । यस्तो अवस्थामा सशुल्क औषधी फालाफाल हुनु आफैमा घोर विडम्बना भएको नागरिक समाजको अगुवाहरुको धारणा रहेको छ ।
शिवराज नगरपालिकाले लाखौं बजेट खर्च गरेर सञ्चालन गरेको स्वास्थ्य संस्था अब गरिब जनताको ज्यानसँग खेलवाड गर्ने केन्द्र बनेको स्थानीय नागरिकको भनाई रहेको छ ।
सरकारको लगानीमा मा शिवराज आधारभुत स्वास्थ्य सेवा अस्पतालको बोर्ड त देखिन्छ, तर भित्र जनताको चीत्कार छ, आँसु छ, र पीडा मात्रै रहेको छ ।
स्थानीयले भन्छन “यदि तत्काल औषधि ब्यवस्थापन गरि सुधार गरिएन भने यो अस्पताल बन्द गरेर बसे हुन्छ ।”

