कपिलवस्तुका १ सय ६६ जना कृषकलाई स्प्रे ट्यांकी वितरण
न्युज सेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ मा १ सय ६६ जना कृषकहरूलाई कृषि कार्यमा उपयोगी स्प्रे ट्यांकी वितरण गरिएको छ ।
कृषिमा प्रविधिको प्रयोग बढाएर उत्पादन वृद्धि गर्ने उद्देश्यले वडा कार्यालयको पहलमा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष नसिम अहमद खाँले आधुनिक कृषि प्रविधिको प्रयोगबाट उत्पादन लागत घटाउनुका साथै उत्पादन वृद्धि गर्न सकिने बताउँदै कृषकलाई यस्ता प्रविधिमा पहुँच पुर्याउन वडा कार्यालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “खेतीपाती परम्परागत शैलीमा मात्रै निर्भर रहँदा सम्भावना अनुसारको उत्पादन लिन सकिँदैन, त्यसैले प्रविधि हस्तान्तरणमा हाम्रो प्राथमिकता छ ।”
कार्यक्रममा शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चौधरीको समेत विशेष सहभागिता रहेको थियो । उनले किसानहरूलाई प्रविधिमैत्री बनाउँदै लैजान यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “कृषकलाई प्रविधिमा पहुँच पुर्याउने जिम्मेवारी स्थानीय सरकारको हो । यो कार्यक्रमले उनीहरूमा नयाँ आशा र प्रेरणा जगाएको छ ।”
वडा सचिव सवित्री चौधरीले कीटनाशक छर्न, मल छर्ने तथा विभिन्न कृषिजन्य कार्यमा स्प्रे ट्यांकी उपयोगी हुने भएकाले कृषकहरूको मागलाई सम्बोधन गर्दै ट्यांकी वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार यो वितरण कार्यक्रम कृषकहरूको प्रत्यक्ष सहभागितामा पारदर्शी ढंगले सम्पन्न गरिएको हो ।
स्प्रे ट्यांकी प्राप्त गरेका स्थानीय कृषकहरूले यो वडालाई धन्यवाद दिएका छन । उनीहरूले यस्तो कार्यक्रमले कृषिमा उत्साह थपेको बताउँदै वडा कार्यालयप्रति आभार प्रकट गरेका छन् ।
कृषक हरि यादवले भने, “हामी जस्ता साना किसानका लागि यो ट्यांकी निकै काम लाग्नेछ, मल तथा औषधि छर्ने काम सहज हुन्छ ।”
वितरण कार्यक्रममा वडा सदस्य, कृषि शाखाका प्राविधिक कर्मचारी, कृषक प्रतिनिधि तथा अन्य स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमले कृषकहरूमा नयाँ प्रविधिप्रति विश्वास र रुचि बढाउने अपेक्षा लिइएको छ ।