Connect with us
Kapilvast Forest

पुलका सामान कवाडीलाई बेचेको आरोप लागेका वडाध्यक्ष गौतम पुर्पक्षका लागि थुनामा

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

काभ्रे –

रोशी गाउँपालिका–७ का वडा अध्यक्ष अशोककुमार गौतमलाई पुलका जीर्णका सर–सामान बेचेको आरोपमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।गत असोजमा आएको बाढीले बगाएको झोलुङ्गे पुल र पक्की पुलका फलामका भागहरू चोरी गरी कवाडीलाई बेचेको आरोपमा गौतमसहित अन्य केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार गौतम र कवाडी व्यवसायी मण्टु कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। स्क्र्याप व्यवसायी जितेन्द्र पासवानलाई भने २० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ। स्थानीयहरूले झोलुङ्गे पुल र पक्की पुलका फलामका भागहरू चोरी गरी बेचेको भन्दै उजुरी दिएका थिए।

रोशी गाउँपालिका–७, रघुचौरको झोलुङ्गे पुल र रोशी तथा महाभारत गाउँपालिकाका नागरिकलाई जोड्ने पक्की पुल बाढीले बगाएको थियो। वडा अध्यक्ष गौतमले ती पुलका बाँकी भागहरू कवाडी व्यवसायीलाई बिक्री गरेको उजुरीका आधारमा कटुन्जे प्रहरी चौकीले जेठ १२ गते राति रोशी–७, थानसिङ्गबेशीबाट कवाडीमा लैजाँदै गरेका बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो।

प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मण्टु कुमार र जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ का ४७ वर्षीय मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ का ४० वर्षीय रमेश लामालाई पनि पक्राउ गरेको छ।प्रहरीका अनुसार, वडा अध्यक्ष गौतमले कवाडी व्यवसायी मार्फत फलामका भागहरूको बिक्रीबाट प्राप्त रकम मोबाइल बैंकिङ प्रणालीमार्फत भुक्तानी लिइसकेको प्रमाण फेला परेको छ।

गौतमले राज्यको सम्पत्ति बेचेको भन्दै सोही वडाका स्थानीयले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिएका थिए। यस घटनामा संलग्न भनिएका अन्य केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। उनी गत स्थानीय तहमा माओवादीको तर्फबाट उम्मेदवार बनेर जितेका थिए। उनले नेकपा एमालेका प्रतिद्वन्द्वी मोहनबहादुर तामाङलाई ३५ मतले हराएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu