सिद्धबाबा खण्डको सकस : वैकल्पिक सडक अलपत्र, छोटो सुरुङमार्गले दिँदैन समाधान
बुटवल –
असार २०७२ मा बुटवल(पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा लुम्बिनी मेडिकल कलेज पाल्पाका डा। तरुणदीप सिंह कोचर र उनकी श्रीमती डा। यशोदा चढेको गाडी पहिरोले पुरिँदा दुवैजनाको घटनास्थलमै मृत्यु भयो । घटनामा गाडीमा सवार अन्य २ डाक्टर घाइते भए ।सोही वर्षको २२ साउनमा सिद्धबाबामै अर्को ठूलो दुर्घटना भयो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ५७७१ नम्बरको यात्रुवाहक बसलाई पहिरोले धकेलेर तिनाउ नदीमा खसाल्दा ३ जनाको ज्यान गयो ।
२०७४ साल असोजमा सिद्धबाबा क्षेत्रमै गुडिरहेका ट्रक र कारमाथि पहिरो खस्दा ३ जनाको मृत्यु र १ जना घाइते भए ।भदौ २०७६ मा सिद्धबाबा क्षेत्रमै पहिरोले जीप पुरिँदा चालकको मृत्यु भयो, ६ जना घाइते भए । साउन २०७८ मा पहिरोमा परेर सोही क्षेत्रमा ३ वर्षीया नैनी दर्जीको ज्यान गयो ।असार २०८० मा गुडिरहेको जीपमा ठूलो ढुंगो खस्दा ३ जना घाइते भए ।
दैनिक ५ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने यो सडकमा भएका यी दुर्घटना केही उदाहरण मात्र हुन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकअनुसार २०६८ सालयताको १४ वर्षमा सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा भएका दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु र १०० बढी घाइते भएका छन् ।
पहिरो खस्दा कैयौंपटक घण्टौं सडक अवरुद्ध भएको छ भने मानवीय र सवारी साधनको क्षति हुनेमा यात्रुसँगै चालक र गाडी धनीसमेत छन् ।२०६८ देखि २०७३ वैशाखसम्मको ५ वर्षमा मात्रै सिद्धबाबा क्षेत्रमा खसेका पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए । २०७३ वैशाखयता भने दुर्घटना र मानवीय क्षतिको दर घटेको देखिन्छ ।
चट्टाने भीरको तल बनेको यो सडक खण्डमा हरेक वर्ष वर्षायाममा मात्र नभई सुख्खा याममा समेत पहिरो झर्छ ।तल्लो सिद्धबाबा मन्दिरदेखि माथिल्लो सिद्धबाबा मन्दिर हुँदै दोभानसम्मको ३ किलोमिटर सडकखण्डमा पहिरोको उच्च जोखिम छ ।सडकमा पहिरो झरेर बर्सेनि सडक अवरुद्ध हुँदा यात्रु, चालक र मालिकले सास्ती र क्षति खेप्नुपरिरहेको छ ।तल्लो सिद्धबाबा मन्दिरदेखि माथिल्लो सिद्धबाबा मन्दिर हुँदै दोभानसम्मको ३ किलोमिटर सडकखण्डमा पहिरोको उच्च जोखिम छ ।
बुटवलबाट लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची तथा गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ पुग्न सिद्धबाबा खण्ड भएर यात्रा गर्नुपर्छ । बर्सेनि दुर्घटना र मानवीय क्षति हुने भएकाले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डलाई ‘मृत्यु मार्ग’ समेत भनिन्थ्यो ।
यही मृत्यु मार्गको विकल्पका रूपमा झुम्सा(चरंगे सडक निर्माण अघि बढे पनि ६ वर्षसम्म अलपत्र छ भने ७ अर्ब ३४ करोड २१ लाख लागतमा ११ सय मिटर सुरुङ मार्ग निर्माणाधीन छ । तर पहिरोको जोखिम क्षेत्र नसमेटेको छोटो सुरुङ मार्गले पहिरो र दुर्घटनाको जोखिम पूर्ण रूपमा अन्त्य नहुने सरोकारवाला बताउँछन् ।
६ वर्षसम्म अलपत्र झुम्सा–चरंगे सडक
लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सिद्धबाबा खण्डमा पहिरोका कारण भइरहने सडक अवरोध र मानवीय क्षति रोक्ने विकल्पका रूपमा झुम्सा(चरंगे सडक निर्माण अघि बढाएको थियो ।२०७५ सालमा १० करोड रुपैयाँ विनियोजन गरेर पाल्पाको झुम्साबाट रूपन्देहीको चरंगे हुँदै बुटवल धागो कारखानासम्म २० किलोमिटर सडक प्रदेशको ‘गौरवको आयोजना’ का रूपमा अघि बढाइएको थियो ।
तर, ५ वर्षमा पूरा गर्ने भनिएको यो सडक ६ वर्ष हुन लाग्दा पनि अधुरै छ । चुरे पहाड क्षेत्रमा पर्ने मुडाबास(चौकीभन्ज्याङ खण्डको ५ किलोमिटर खण्डको काम अलपत्र छ ।पाल्पातर्फ तिनाउ गाउँपालिका(३, झुम्साबाट चौकी भन्ज्याङसम्म साढे ७ किलोमिटर र रूपन्देहीतर्फ बुटवल धागो कारखानाबाट देवदह नगरपालिका( १० चरंगेसम्म सडक निर्माणाधीन छ ।
उक्त १५ किलोमिटर खण्ड मर्मतसम्भार गर्दै र केही फराकिलो बनाइएको छ । अन्त्यन्त अप्ठ्यारो मानिने चुरेको जंगल क्षेत्र रहेको चौकी भन्ज्याङबाट मुढाबास चरङगेसम्म ५ किलोमिटरमा ट्र्याक मात्र खोलिएको छ । तर उक्त ट्र्याक हरेक वर्ष वर्षायाममा आउने लेदोसहितको पहिरोले भत्काउने गरेको छ ।
सुरुङ मार्गको काम सुरु भएपछि बजेटमा बेवास्ता
प्रदेश सरकारले सिद्धबाबामा सुरुङ मार्गको काम अघि बढाएपछि झुम्सा(चरंगे सडकलाई बजेटमा बेवास्ता गर्न थालिएको छ ।यातायात पूर्वाधार निर्देशनालय, रूपन्देहीका अनुसार निर्माण सुरु भएको ६ वर्षमा प्रदेश सरकारले २० किलोमिटर सडकमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । तर आर्थिक वर्ष २०८०र८१ र चालु आर्थिक वर्षमा पनि डेढ करोड मात्र बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय रूपन्देहीका इन्जिनियर कृष्ण पण्डितले बताए ।
‘सुरुङ मार्गको काम सुरु नहुँदासम्म अलि धेरै बजेट आउँथ्यो, ३ वर्षयता बजेट निरन्तर घट्दै गएको छ,’ पण्डितले भने, ‘अघिल्लो आर्थिक वर्षमा त पहिरोले भत्काइदिन्छ भनेर कामै भएन, आगामी वर्षको बजेटमा पनि त्यही हाराहारीमा छ भन्ने सुनेको छु, रातो किताब हेर्न पाएको छैन ।’पण्डितका अनुसार झुम्सा(चरंगे सडकलाई कालोपत्रे गरेर बाह्रै महिना गाडी चल्ने बनाउने अझै ३० करोड बढी बजेट आवश्यक छ । अहिलेकै हिसाबले वर्षमा डेढ करोड बजेट दिने हो भने अझै १५ वर्षमा पनि सडक पूरा नहुने उनले बताए ।
पाल्पा र रुपन्देही जोड्ने सडक भएकाले झुम्सा(चौकी भन्ज्याङ साढे ७ किलोमिटर खण्डमा पूर्वाधार विकास कार्यालय पाल्पा र चौकी भन्ज्याङ(धागो कारखानाको साढे १२ किलोमिटर खण्डमा पूर्वाधार विकासकै रुपन्देही कार्यालयले काम गर्दैछन् ।
अध्ययनविना सुरु गरेको भन्दै रुट परिवर्तन गर्न सुझाव
रुपन्देहीको देवदह चरंगेबाट चौकी भन्ज्याङसम्मको ५ किलोमिटर खण्डमा बनेको ट्र्याक हरेक वर्ष पहिरोले बगाउँदा खर्च बालुवामा पानी सरह भएको छ । भूगर्भविद्को सुझावका आधारमा मुढाबास खण्डको साढे ४ किलोमिटरमा स्थायी संरचना निर्माण कार्य रोकिएको छ ।सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीका प्रमुख लालु गिरीका अनुसार चुरे क्षेत्रमा डोजर लगाएर खनेको बाटोमा माथिबाट भेलसहित आउने लेदो पहिरोले हरेक वर्ष क्षति हुने गरेको छ ।
जति काम गरे पनि वर्षायाममा बिग्रेर उस्तै हुने भएपछि सडक पूर्वाधार विकास कार्यालयमा अन्योल छ ।गिरीका अनुसार राम्ररी अध्ययन नगरी हतारमा ट्र्याक खोलिएका कारण सिद्धबाबा खण्डको विकल्प मानिएको झुम्सा(चरंगे सडकको मुडाबास(चौकीभन्ज्याङ खण्डमा सडक बनाउन समस्या देखिएको छ ।पाल्पातर्फ कुनै समस्या नभए पनि मुडाबास(चौकीभन्ज्याङ खण्डको विकल्प खोज्नुपर्ने देखिएको उनको भनाई छ । अब रुट परिवर्तन गरेर मात्रै लगानी गर्दा उपयुक्त हुने गिरीको सुझाव छ ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी भने सडक निर्माण सुरु गर्दा भौगोलिक अध्ययन गरेर सुरु गरेको बताउँछन् । निर्माणाधीन झुम्सा(चरंगे सडकलाई पाल्पाका खानीबाट सिमेन्ट उद्योगहरूमा चुनढुंगा ढुवानी गर्ने सडकका रूपमा प्रयोग गर्न सकिने उनी बताउँछन् ।दैनिक सयौं टिपर र मालवाहक ट्रक सिद्धबाबा हुँदै बुटवल बजारमा गुड्दा दुर्घटनाको जोखिम भएकाले यो बाटो मालबाहक गाडीका लागि भनेर पनि सुरु गरिएको चौधरीले बताए ।
‘११ सय मिटर सुरुङ मार्ग अपूर्ण हो, दुर्घटनाको जोखिम यथावत्’
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा खण्डको तिनाउ गाउँपालिका ३ मा सिद्धबाबा सुरुङ मार्ग निर्माणाधीन छ । सुरुङ मार्गको मुख्य टनेलको गत १२ माघमा ब्रेक थ्रु भएको छ ।दुवैतर्फको रिबसहित सुरुङ मार्गको कूल लम्बाइ १ हजार १२६ मिटर मात्रै हो । तर यो खण्डको करिब ३ किलोमिटर सडक दुर्घटनाको उच्च जोखिमयुक्त ठाउँ हो । मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ दक्षिणबाट ६१० र तिनाउ जल विद्युतको हेडबक्सतर्फ उत्तरबाट ४७७।२ मिटर छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक एवं दुर्घटना न्यूनीकरण समिति संयोजक नारायण घिमिरेले सिद्धबाबा खण्डको ३ किलोमिटर बढी क्षेत्र वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरोको जोखिमयुक्त क्षेत्र भएकाले हालको सुरुङ मार्ग दुर्घटना रोक्न अपूर्ण हुने बताए । घिमिरे सञ्चालक रहेको प्रालिमा नेपालकै धेरै करिब २ हजार ५०० बस व्यवसायी आवद्ध छन् ।
‘तल्लो सिद्धबाबा मन्दिरदेखि नै सुरुङ बनाउनुपर्थ्यो र अहिले बनाउन लागिएको सुरुङको अन्तिम बिन्दु रामापिथेकस पार्कभन्दा थप डेढ सय मिटर अगाडिसम्म बनाएको भए मात्रै सडक सुरक्षित सार्थक हुन्थ्यो,’ घिमिरेले भने, ‘बन्दै नबन्नु भन्दा त राम्रै मान्नुपर्छ तर यो अपूर्ण छ, यसले समाधान दिँदैन । सिद्धबाबा खण्डमा दुर्घटनाको जोखिम कायमै हुन्छ ।’
तिनाउ गाउँपालिका दोभानकै बासिन्दा एवं अधिवक्ता महेन्द्र पाण्डेयले लगानी र सुरक्षाका हिसाबले हाल बनिरहेको सुरुङ मार्गले पूर्ण समाधान नदिने बताए । ‘अहिले बनिरहेको सुरुङको पूर्व र पश्चिम दुवैतर्फ जोखिमयुक्त क्षेत्र छन्, त्यहाँ पनि सुरुङ मार्ग बन्नुपर्थ्यो,’ पाण्डेयले भने, ‘यसले त सडक दुर्घटना र जोखिम अन्त्य गर्दै गर्दैन ।’
७ अर्ब ३४ करोड २१ लाख रूपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ मार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सम्पन्न हुनेछ ।टनेलको ब्रेक थ्रु भएपछि सुरुङ भित्रको भुईं र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायतका काम भइरहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।
यस्तै, सिद्धबाबा क्षेत्रको सुरुङ बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा र उत्तरतर्फ ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङ मार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ ।
सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङ मार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म भौतिक प्रगति करिब ५५ प्रतिशत भएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।
आयोजनाअन्तर्गत २ हजार ३९८ मिटर सडक स्तरोन्नति हुनेछ भने ७८० मिटरमा रकसेड हुनेछ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।८ वर्षअघि नै स्विस कम्पनीले गरेको अध्ययनले सिद्धार्थ राजमार्गको बर्तुङ(चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७०० मिटर सडक क्षेत्र जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो ।
स्विस कन्सल्ट्यान्ट आईटीईसीओ(एएफ ९इटिको(एएफ० ले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गर्न सहयोग गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो ।
डेडिकेटेड डबल लेन भएपछि मात्रै सास्ती हट्ने आश
झुम्सा(चरंगे वैकल्पिक सडक र छोटो सुरुङ मार्गबाट दीर्घकालीन रूपमा सिद्धबाबा खण्डको सडक सास्ती अन्त्य नहुने ठानेका यात्रु, सवारी धनी र चालकहरू सुनौली(पोखरा सिद्धार्थ राजमार्ग स्तरोन्नतिबाट मात्रै राहत पाउन सकिने आशामा छन् । सिद्धार्थ राजमार्ग बनेको ५५ वर्षपछि ‘टु लेन डेडिकेटेड’मा स्तरोन्नति गर्न आगामी आर्थिक वर्षको बजेटमा समेटिएपछि केही वर्षमा सास्ती कम हुने नागरिकमा आशा पलाएको हो ।
नेपाल(भारत सीमा नाका सुनौलीबाट सुरू भएर पोखराको छोरेपाटनमा टुंगिने १८० किलोमिटर लामो सडक २०२७ सालमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण सुरू भएर २०३४ सालमा सम्पन्न भएको थियो ।सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल(सुनौली २७ किलोमिटर खण्ड ६ लेनमा विस्तार भइसकेको छ । अब राजमार्गअन्तर्गत पर्ने बुटवल(पोखरा १५८ किलोमिटर खण्ड ‘डेडिकेटेड दुई लेन’ मा विस्तार हुन लागेको हो । अहिले यो सडकको ५।५ देखि ६ मिटरसम्म हुँदा बढ्दो सवारी चापले साँघुरो हुँदै गएको छ ।
५५ वर्षसम्म स्तरोन्नति नहुँदा सडक अति जीर्ण र कमजोर छ । यो सडकले रूपन्देही, पाल्पा, स्याङ्जा र कास्की गरी ४ जिल्लाका १७ वटा स्थानीय तहलाई जोडेको छ । यो सडक खण्डमा अहिले यात्रा गर्दा ६ घण्टा लाग्ने गर्छ भने सडक निर्माणपछि यात्रा साढे दुई घण्टामा छोटिनेछ ।सडक विभागका प्रवक्ता अर्जुन अर्यालले यसअघि नै तयार भइसकेको डीपीआर पुनरावलोकन गरेर जति सक्दो चाँडो टेन्डर प्रक्रियामा जाने बताए ।
‘डेडिकेटेड डबल लेन’ मा कुनै एक लेनमा गाडी बिग्रिएर रोकिए पनि बाँकी भएको ठाउँमा दुईतर्फी रूपमै सवारीसाधन आवत(जावत गर्न सक्नेछन् । दुई लेन सडकमा भने कुनै एक लेनमा गाडी बिग्रिएर रोकिएमा एकतर्फी मात्रै यातायात सञ्चालन गर्न मिल्छ ।‘साँघुरो भएकाले पहिरो जाँदा वा दुर्घटना हुँदा सडक अवरुद्ध हुने समस्या भोग्दै आएका छौं, अब डेडिकेटेड डबल लेनमा विस्तार भएपछि जामको समस्या नहुने आशा पलाएको छ,’ पाल्पा तिनाउ गाउँपालिका( ३ का राजेश श्रेष्ठले भने, ‘तर सडक विस्तार गर्दा बुटवल(नारायणगढको जस्तो बेहाल नहुने गरी काम गर्नुपर्छ ।’
५ वर्षको निर्माण अवधि र लागत २० अर्ब रूपैयाँ अनुमान गरिएको छ । जसमध्ये १० अर्ब ३९ करोड रुपैयाँ सडक निर्माण र ९ अर्ब ३७ करोड रुपैयाँ सुरुङ निर्माणका लागि लाग्ने अनुमान छ । यो खण्डमा ५ वटा सुरुङ मार्ग बनाउने पुरानो डीपीआरमा उल्लेख छ । त्यसमा १ हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङ मार्ग पनि समेटिएको छ ।प्रतिवेदनअनुसार यो सडकलाई न्यूनतम ७ मिटर क्यारिज वेमा विस्तार गरिनेछ । सडकको दायाँ(बायाँ थप १५ मिटरको सोल्डर सडकको दुवैतर्फको छेउ भागमा पिच र १ मिटरको नाला पनि निर्माण गरिनेछ ।
यस सडक चौडाइ ठाउँ(ठाउँमा साँघुरो ५।५ मिटर र ६ मिटरसम्म रहेकाले कम्तीमा पनि ७ मिटर क्यारिज वे, सडकको दुवैतर्फ १।५ मिटरको सोल्डर र १ मिटरको नालासहित बाह्रै महिना सुचारु रहनेछ । बजार क्षेत्रमा भने ‘फोर लेन’ को सडक बनाउने योजना रहेको विभागका प्रवक्ता अर्यालले जानकारी दिए ।
विभिन्न ३८ ठाउँमा ८ मिटरदेखि ९२ मिटरका लामा एवं अग्ला पुल बनाउने प्रस्ताव छ । त्यसको उचाइ भने ६ देखि २० मिटरसम्म हुने प्रतिवेदनमा उल्लेख छ । यी अग्ला पुलको कूल लम्बाइ ७७७।६ मिटर हुनेछ । यसले सडकको लम्बाइ ४।४२ किलोमिटर घटाउने प्रतिवेदनमा उल्लेख छ ।यो सडक विस्तार गर्दा पाल्पाको तिनाउ गाउँपालिका दोभानदेखि स्याङ्जा सडक छेउसम्म कम्तीमा १ हजार घरटहरा भत्काउनुपर्ने हुन्छ ।