दियोमुनी अँध्यारो : चन्द्रौटाको बस्ती जलमग्न, घडेरीमा ७० लाख
न्युज सेन्टर नेपाल, कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य बजार क्षेत्र चन्द्रौटामा रहेको एक पुरानो बस्ती आजसम्म पनि आधारभूत पूर्वाधारविहीन अवस्थामा छ । जहाँ दुई दशकअघि देखिको बसोबास भए पनि राज्यको नजर पुग्न सकेको छैन ।
नारायणी पेट्रोलपम्पको दक्षिणपट्टि रहेको एक निजी प्लाटिङ घडेरीमा प्रदेश सरकारबाट ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तर त्यहीँ नजिकको बस्ती — जसमा घर बनेर बासिन्दा दशकौंदेखि बस्दै आएका छन् — जलमग्न र उपेक्षित अवस्थामा रहेको छ ।
बस्तीका बासिन्दा भन्न्छन्, “दियोमुनी अँध्यारो भयो, हामी त राज्यका नजरमा दोस्रो दर्जाका नागरिकजस्तै भयौं।”
उक्त स्थान शिवराज नगरपालिका–५ मा पर्छ । पूर्व मेयर नेत्रराज अधिकारीको घरको दक्षिण र महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलामको घरको पुर्वमा छ । तर यति नजिक सत्ता र शक्ति हुँदा हुँदै पनि स्थानीय, प्रदेश र संघीय सरकार कसैले यो बस्तीप्रति ध्यान दिएको छैन ।
ब्राइट बोर्डिङ स्कुल, बन्जाडे होमियोप्याथिक क्लिनिक र पुरानो मस्जिद रहेको यस टोलमा पानी निकासको कुनै व्यवस्था छैन । सडकमै हिलो र घर वरिपरि जमेको पानीले बालबालिका र वृद्धहरूलाई आवतजावत गर्न कठिन बनाएको छ ।
स्थानीय सरिता थापा भन्छिन्, “हाम्रो बस्ती विकासको नक्साबाटै हरायो कि जस्तो लाग्छ । बजेट आए पनि देखिने ठाउँमा मात्रै लगाइन्छ, बाँच्नुपर्ने ठाउँमा होइन ।”
राजनीतिक पहुँच भएका ठाउँमा सडक, नाली र ढल बन्ने तर साँच्चिकै जरुरतमन्द समुदाय भने उपेक्षित हुने यो घटनाले राज्यको प्राथमिकता र योजनामा रहेको विभेदलाई उजागर गरेको छ ।
स्थानीय युवा विवेक गिरीले भने, “हामीले पटकपटक ज्ञापनपत्र बुझायौं, सामाजिक सञ्जालमा आवाज उठायौं, तर राज्यका कान यस ठाउँका पीडामा बहिरा छन् ।”
