Connect with us
Kapilvast Forest

नेपाल–भारत रोटीबेटी सम्बन्धमा तगारो बन्दै सशस्त्र प्रहरी 

२०८३, १७ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु — नेपाल र भारतबीचको शताब्दीयौँ पुरानो रोटीबेटी सम्बन्धमाथि सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको व्यवहारले प्रश्न उठाएको छ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–७ कुशाहवाका एक युवकले भारतको सिद्धार्थनगरमा विवाह गरेपछि ससुरालीबाट ल्याएका विवाहजन्य सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार पठाएको घटनाले स्थानीयस्तरमा तीव्र असन्तुष्टि पैदा गरेको छ।
पीडित परिवारका अनुसार विवाहपछि भारतस्थित ससुरालीबाट ल्याइएका एसी, फ्रिज, कुलर लगायतका सामग्री लिएर नेपाल फर्किने क्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा बल कर्मा भिल्मीले ती सामान नियन्त्रणमा लिएको थियो।

पीडित पक्षले विवाहको प्रमाण र सहजीकरणका लागि महाराजगन्ज नगरपालिका–७ वडा कार्यालयको सिफारिस पत्र समेत साथमा बोकेको दाबी गरेका छन्।
स्थानीयवासीका अनुसार विवाहका अवसरमा दाइजो वा उपहारस्वरूप प्राप्त सामग्री ल्याउँदा सम्बन्धित निकायबाट सहजीकरण हुनुपर्नेमा उल्टै दुःख दिने काम भएको छ।

“हामीले विवाहका सामग्री ल्याएका थियौं, सबै कागजात पनि थियो। तर सीमा नाकामा पुगेपछि सामान जफत गरियो। यसले रोटीबेटी सम्बन्धलाई नै अप्ठ्यारो बनाएको छ,” एक स्थानीयले गुनासो गरे।
स्थानीयहरूले विवाहजन्य सामग्रीप्रति सरकारले लचकता अपनाउने व्यवस्था रहे पनि सशस्त्र प्रहरीले त्यसको बेवास्ता गर्दै ज्यादती गरेको आरोप लगाएका छन्।

उनीहरूका अनुसार सीमामा कार्यरत सुरक्षाकर्मीले नागरिकलाई सहज वातावरण दिनुको सट्टा अनावश्यक झन्झट सिर्जना गरिरहेका छन्।

घटनाबारे प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुका गणपति, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले आफूलाई पूर्वजानकारी नदिई सामग्री ल्याइएको भन्दै विषय माथिल्लो निकायमा जानकारी गराइएको बताए ।

यस्तै, सशस्त्र प्रहरी अस्थायी गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदले आवश्यक जानकारी र प्रक्रिया पूरा नगरी ल्याइएका कारण सामग्री नियन्त्रणमा लिइएको दाबी गरे ।
कर्मा भिल्मीका सशस्त्र प्रहरी निरीक्षक कमल केसीले भने केही सामान छाडिएको र केही सामान भन्सार कार्यालय पठाइएको स्वीकार गरे।
तर स्थानीयवासीले भने प्रश्न उठाएका छन्—यदि विवाहका सामग्री ल्याउन नगरपालिका सिफारिस, विवाहको प्रमाण र अन्य कागजात हुँदाहुँदै पनि सामान जफत गरिन्छ भने सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले कसरी सहज रूपमा आफ्नो पारिवारिक सम्बन्ध निर्वाह गर्ने?
यो घटनाले नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई सम्मान गर्ने सरकारी नीतिमाथि समेत प्रश्न खडा गरेको छ। सीमावर्ती क्षेत्रका बासिन्दाले सुरक्षा जाँचको नाममा नागरिकलाई दुःख दिने प्रवृत्ति अन्त्य गरी स्पष्ट, पारदर्शी र नागरिकमैत्री व्यवहार अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu