कांग्रेसले चलायो अनुशासनको डन्डा : अन्तर्घातको आरोपमा डेढ दर्जन नेतामाथि कारबाही
काठमाँडौ –
आमनिर्वाचन सकिएको साढे तीन वर्षपछि पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग र अन्तर्घात गरेको अभियोगमा कांग्रेसले डेढ दर्जन नेता कार्यकर्तामाथि कारबाही गरेको छ । जसमा प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसम्म छन् ।कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले ०७९ को स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहित डेढ दर्जनमाथि अनुशासनको कारबाही गरेको हो ।
अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो–भिडियोलगायत अनेकन् हतकन्डा प्रयोग गरिएका प्रमाणलाई आधार मानेर पार्टी नेता तथा कार्यकर्तालाई निष्कासनरनिलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । कारबाहीमा परेकामा लुम्बिनी प्रदेशका महामन्त्री खनाल, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, खोटाङका सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ । कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको छ । यी सबै कांग्रेसमा संस्थापनइतर समूहका हुन् ।
त्यस्तै, धनुषा लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन गरिएको छ । धनुषा सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका– १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका– २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरिएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका– १ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका– २ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका– १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका– ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई ६ महिना निलम्बन गरिएको छ ।
अनुशासन आयोगले छानीछानी इतर समूहका नेता कार्यकर्तालाई कारबाही गरेको भन्दै कांग्रेसमा असन्तुष्टि उत्पन्न भएको छ । हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेता डा। शेखर कोइरालाले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्ने बताएका थिए । ‘अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीका लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ । तपाईँका विरूद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नुहुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ, कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद रु’ उनले प्रश्न गरेका थिए ।
तर केन्द्रीय समिति बैठक सकिएलगत्तै अनुशासन आयोगको बैठकले इतर समूहका नेता कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ । बहुमतको आधारमा संयोजक ढुंगानाले कारबाही गर्ने निर्णय गरेका हुन् । आयोग सदस्य राजीव कोइराला र सञ्जय गौतमले भने कडा प्रतिवाद गरेको स्रोतले बतायो ।
साभार : नयाँपत्रिका